काठमाडौ, बैशाख १६
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कोरोना भाइरस (कोभिड–१९) महामारीको विरुद्ध आफ्ना एजेन्सी म्यानेजरहरुलाई पनि एक लाखको बीमालेख प्रदान गरेको छ । जीवन बीमा व्यवसायको विकास र विस्तारका लागि बीमा अभिकर्ताहरु कम्पनीको मेरुदण्ड हुन ।
कम्पनीसंग आवद्ध बीमा अभिकर्ता (सिटिजन लिडर) हरुको कार्य दक्षता अभिवृद्धि गरी उत्पादकत्व बढाउन तथायस पेशालाई अझ मर्यादित एवम् व्यवसायिक बनाउन सदैव अग्रणी भूमिका निर्वाह गर्दै आएको कम्पनीले अहिलेको यस विषम परिस्थितिमा आफ्ना लिडरहरुको व्यवसायिक मनोवल उच्च गराउन कम्पनीले निर्धारण गरेको व्यवसायिक लक्ष्य हासिल गरेका सम्पूर्ण एजेन्सी म्यानेजरहरुलाई एक लाखको कोरोना भाइरस, कोभिड–१९ बीमा सुविधा उपलब्ध गराएको छ । उक्त सुविधा कम्पनीले निर्र्जीवन बीमा कम्पनी शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडबाट सामुहिक बीमा बीमालेख खरिद गरी उपलब्ध गराएको हो ।
बीमा समितिको निर्देशन बमोजिम कोरोना भाइरस रोगको रक्षावरण गर्नका लागि कोरोना भाइरस (कोभिड–१९) नयाँ बीमालेख प्रचलनमा आउने बित्तिकै यसअघि सिटिजन लाइफले आफ्ना कर्मचारीहरुलाई पनि सोहीे सुविधा उपलब्ध गराएको थियो । कोरोना लागेको पिसिआर परीक्षणमा पोजेटिभ देखिने बित्तिकै बीमाङ्क रकम भुक्तानी लिनपाइनेछ । यस बीमालेखले बीमितहरुलाई एक वर्षसम्म सुरक्षा प्रदान गर्दछ । आफ्नो टिमको मनोबल उच्च राख्न र कम्पनीमा आबद्ध लिडरहरुको सेवा सुविधा र क्षमता बृद्धि विकासमा अग्रणी भूमिकामा रहदै आएको सिटिजनले आफ्नो यो प्रयासले आफ्ना लिडरहरुको क्यारियर एजेन्सीको रुपमा काम गर्न थप आधार तयार हुने विश्वास लिएको कम्पनीले जनाएको छ ।