neapl investment mega bank

कोरोनाविरुद्ध यसरी परिचालित छन् युवा

Apr 28th, 2020

–रमेश लम्साल,
काठमाडौँ, १६ वैशाख (रासस)

विश्वभर नै कोरोनाको त्रास उत्तिकै छ । नेपाल पनि त्यसबाट अछुतो छैन । कोरोनाको त्रास कम गर्न र सङ्क्रमण फैलन नदिन सरकारले लकडाउन गरिरहेको छ । यस्तो विषम अवस्थामा नागरिकलाई आधारभूत सेवा उपलब्ध गराउन सरकार प्रयत्नशील छ । सङ्कटको समयमा नागरिकलाई सहज सेवा दिन युवा पनि उत्तिकै क्रियाशील छन् ।

विभिन्न राजनीतिक दलमा आवद्ध युवादेखि स्वयंसेवीका रूपमा समेत उनीहरुले राष्ट्रलाई परेको सङ्कटमा सहयोगी बनेर खडा भएका छन् । कोही राहत बाँड्न सक्रिय छन् भने कोही जनचेतना जगाउन लागिपरेका छन् । कोही अप्ठ्यारोमा परेका नागरिकलाई आफ्नो थातथलो पु¥याउनसमेत खटेका छन् ।

त्यसो त युवा तथा खेलकूद मन्त्रालयले ‘कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि समुदायमा स्वमंसेवक परिचालनसम्बन्धी मार्गदर्शन, २०७६’ नै लागू गरेको छ । एकीकृत कार्ययोजनाका साथ कोरोना नियन्त्रण तथा आवश्यक सजगताका लागि मार्गदर्शन जारी गरिएको मन्त्रालयको भनाइ छ । विपद् जोखिम न्यूनीकरणमा जनचेतना अभिवृद्धि गर्ने, विपद्को समयमा खोज उद्धार र राहतका लागि तत्काल परिचालन गर्न स्वमंसेवक व्यूरो गठन गर्न सकिने व्यवस्था विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ मा समावेश छ ।

प्रहरी, स्थानीय स्वास्थ्यकर्मी, सामुदायिक स्वयंसेवक र महिला स्वास्थ्य स्वयंसेविका, नेपाल रेडक्रम र गैरसरकारी संस्थाले स्थानीय तहका हरेक वडामा कोरोना रोकथाम समूह गठन गरी परिचालन गरिएको मन्त्रालयको भनाइ छ । मन्त्रालयले वडास्तरमा संयोजनको काम वडाध्यक्षले गर्ने गरी तय गरेको छ । स्वयंसेवक समूहको संरचनामा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका एक–एक जना, रेडक्रम तथा गैरसरकारी संस्थाका प्रतिनिधि तीन जना र सुरक्षाकर्मी एक रहने व्यवस्था छ । त्यस्तो समूह आवश्यकतानुसार एउटै वडाका विभिन्न टोलटोलमा समेत गठन गर्न सकिने गरी व्यवस्था छ ।

युवा तथा खेलकूद मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा मानबहादुर वीकेका अनुसार कोरोनासँग जुध्नका लागि स्थानीय तहसँग मिलेर एकीकृतरूपमा युवा परिचालन गरिएको छ । खेलाडी, रेडक्रस स्काउटका स्वयंसेवक तथा राष्ट्रिय युवा परिषद्ले पनि आ–आफ्नो अनुकूलतमा युवा परिचालन गरेका छन् । देशभर नै एकीकृत कार्ययोजनाका साथ युवा परिचालनका लागि युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनारको संयोजकत्वमा एक समितिसमेत गठन गरिएको छ ।

मन्त्रालयले कुन स्थानीय तहमा के–कसरी युवा परिचालन गरियो भन्नेबारेमा विवरण उपलब्ध गराउनसमेत आग्रह गरेको छ । विशेषगरी राहत वितरण तथा अलपत्र परेका नागरिकलाई आ–आफ्नो घरमा पु¥याउन युवा परिचालित भएका छन् । कोरोनाको जोखिम बढिरहेको क्षेत्रमा स्वाब सङ्कलन गरी प्रयोगशालासम्म पु¥याउन स्काउटका स्वयंसेवक लागिपरेको प्रवक्ता डा विकेले जानकारी दिनुभयो । अधिकतम सुरक्षाको प्रबन्ध गरेर स्थानीय निकायमा कुन बढी महत्वपूर्ण काम हो, सोको पहिचान गरेर परिचालित हुन मन्त्रालयले गरेको आग्रहअनुसार नै काम भएको विश्वास व्यक्त गर्दै प्रवक्ता डा वीकेले क्वारेन्टाइनकक्ष निर्माणमा समेत युवाको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

कोरोना रोकथाम स्वयंसेवक संयोजन र व्यवस्थापनका लागि समुदाय तहमा वडास्तरीय विपद् व्यवस्थापन पूर्वतयारी तथा प्रतिकार्य समितिबाट हुने र समूहको सम्पूर्ण परिचालन वडाध्यक्षले गर्ने गरी व्यवस्था गरिएको छ । समूहका सदस्य परिचालित हुँदा आवश्यक मास्क र स्यानिटाइजरको व्यवस्थापन स्थानीय तहबाट हुनेछ ।

स्थानीय तहमा परिचालित भएका युवाले हात धुन सिकाउने, कोरोनाको सङ्क्रमण देखिएका वा सङ्क्रमित देखिएका व्यक्तिसँग सम्पर्कमा आएका व्यक्तिको पहिचान गरी अनिवार्यरूपमा क्वारेन्टाइनमा राख्ने र त्यहाँ बस्दा पालना गर्नुपर्ने जिम्मेवारी अनिवार्यरूपमा पालना गर्न लगाउनेजस्ता काम गरेका छन् ।

यस्तै ज्येष्ठ नागरिक, बालबालिका, दीर्घरोगी, गर्भवती, सुत्केरी तथा विशेष प्रकृतिका व्यक्तिको स्वास्थ्य सुरक्षामा ध्यान दिने, क्वारेन्टाइनमा बसेर फर्केकाको मनोसामाजिक परामर्श गर्ने तथा समाजमा सहजरूपमा रहन सक्ने गरी वातावरण बनाउनसमेत युवा परिचालित भएका छन् । सरकारको आग्रहअनुसार नै राजनीतिक दल आवद्ध युवासमेत कोरोनाविरुद्धको लडाइँमा सक्रियताका साथ परिचालित भएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को युवा सङ्गठन राष्ट्रिय युवासङ्घ नेपालका संयोजक रामप्रसाद सापकोटा विपद्को समयमा आफ्नो सङ्गठन देशव्यापीरूपमा राहत वितरण, उद्धार तथा आवश्यक समन्वयका लागि परिचालित भएको बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “हामीले जनचेतना जगाउने, समस्यामा परेकालाई घर पठाउने, भोकै रहेकालाई भोजन गराउनेजस्ता काममा लागिपरेका छौँ”, संयोजक सापकोटाले शुरुआती चरणमा क्वारेन्टाइनस्थल निर्माणका लागि स्थानको पहिचान गर्नेदेखि भौतिक सहयोग गर्नेसम्मको काममा सङ्घका सदस्यहरुले सक्रियताका साथ काम गरेको जानकारी दिनुभयो । सङ्घकै पहलमा राजधानी र प्रमुख शहरहरुमा अलपत्र परेका नागरिकलाई घर पु¥याउने प्रबन्ध गरेको छ । सङ्घले झण्डै १० हजारलाई त्यस्तो सेवा पु¥याएको संयोजक सापकोटाको भनाइ छ । स्वास्थ्य सामग्रीको खोज, सङ्कलन तथा वितरण गर्नेदेखि व्यक्तिगत सुरक्षा सामग्री (पिपिइ) उपलब्ध गराउनसमेत सङ्घले प्रमुख भूमिका खेलेको उहाँको भनाइ छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भातृ सङ्गठन तरुण दलका महामन्त्री भूपेन्द्रजङ्ग शाही लकडाउनको समयमा राहत वितरण तथा उद्धारको काममा परिचालित भएको बताउनुहुन्छ । कोरोनाविरुद्ध जुध्न सरकार मात्रैको पहलले काम नगर्ने भएकाले राजनीतिक दल र विचारभन्दा माथि उठनुपर्ने उहाँको भनाइ छ । “हामीले लकडाउनमा राजधानीमा समस्यामा परेका नागरिकलाई घर पु¥याउन लागिप¥यौँ भने भोकै परेका नागरिकलाई खाना खुवाउनसमेत लागेका छौँ”, महामन्त्री शाहीले भन्नुभयो, “सामान्य अवस्थामा त जो कोही पनि बाँच्न सक्छ, अप्ठ्यारो अवस्थामा नै राजनीतिक दल तथा नेतृत्व आवश्यक पर्दछ भन्ने तथ्य स्थापित गरेर काम गरिरहेका छौँ ।”

तरुण दलका नेता तथा कार्यकर्ता स्वास्थ्य सतर्कता अपनाउँदै जनतालाई सेवा दिन लागिपरेको र सकारात्मक प्रतिक्रिया प्राप्त भएको उहाँको भनाइ छ । युवाको सिर्जनशीलता, मेहेनत तथा लगावलाई परिचालन गर्न सकियो भने जस्तोसुकै विपद्बाट पनि जोगिन सकिन्छ भन्ने तथ्यसमेत पछिल्ला दिनमा स्थापित भएको छ । सरकारले पनि युवालाई कसरी सिर्जनात्मक काममा लगाउन सकिन्छ भन्नेबारेमा ध्यान दिनु जरुरी भइसकेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi