चिप्लेढुङ्गा, १६ वैशाख (रासस)
गण्डकी प्रदेशका प्रदेशसभा सदस्य एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले विकास निमार्णका काममा चासो दिँदै अनुगमनलाई निरन्तरता दिनुभएको छ । कोइरालाले विश्वभर फैलिएको कोरोना भाइरसका कारण रोकिएका कामलाई अब निरन्तरता दिनुपर्ने भन्दै विभिन्न स्थानको अनुगमन गर्नुभएको हो । कोइरालाले आज आफ्नै निर्वाचन क्षेत्र बेगनासताल बाँधमा भइरहेको कामको अनुगमन गर्नुभयो । उहाँले निर्माण सामग्री र मजदुर ल्याउन समस्या भए आफूलाई खबर गर्न र कामलाई निरन्तरता दिन निर्माण कम्पनीलाई निर्देशन दिनुभयो ।
उहाँले अब विकासको काममा जोड दिनुपर्ने भन्दै सुरक्षित वातावरण तयार गरेर बेरोजगार भएका मजदुरलाई काम गर्ने वातावरण बनाउनेतर्फ ध्यान दिन आग्रह गर्नुभयो । सांसद कोइरालासँगै अनुगमनमा पुग्नुभएका जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कास्कीका प्रमुख इञ्जिनीयर किरण आचार्यले रु दुई करोडको लागतमा बाँध निर्माण हुनलागेको जानकारी दिनुभयो । कैलाश पर्वत निर्माण सेवाले ठेक्का पाएको बाँध निर्माण यही असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य रहेको उहाँको भनाइ छ ।
बन्दाबन्दीका कारण केही दिन काम रोकिए पनि सांसद कोइरालासहित सबैको सहयोगले निर्माणकार्य शुरु भएको उहाँको भनाइ थियो । “बाँध निर्माणका लागि लकडाउन अगाडि खनेर राखेको बाँधको जग वर्षायाम शुरुसँगै निर्माण हुन नसकेर झन् समस्या हुन्छ कि भन्ने चिन्ता थियो । अब काम शुरु भयो, ढुक्क भयो”, आचार्यले भन्नुभयो ।
उक्त योजनाका इञ्जिनीयर मोहनराज आचार्यले विसं २०४५ मा निर्माण भएको वेगानास बाँध अहिले मर्मत तथा निर्माण भएपछि पाइपिङ हुने समस्या नआउने बताउनुभयो । आचार्यले भन्नुभयो, “बाँध पुरानो हुँदै गएपछि विस्तारै तालको पानी बाँधबाट छिरेर बाहिर आउने ९पाइपिङ हुने० समस्या हुन्थ्यो, पुनःनिर्माणले ड्यामको आयु बढाउनुका साथै क्षयलाई रोक्न मद्दत पुग्नेछ ।” सांसद कोइरालले सुन्दर शहर पोखराको लेखनाथमा रहेको बेगनासताललाई पर्यटककीय आकर्षण क्षेत्र बनाइने बताउनुभयो ।