neapl investment mega bank

शहरबाट धमाधम गाउँ ल्याउँदा आलोचना

Apr 27th, 2020

–केदार मगर खोटाङ, १५ वैशाख (रासस)

हलेसी तुवाचुङ नगरपालिकाले काठमाडौँमा अलपत्र नगरबासीलाई गाडी पठाएर घर फर्काएको विषयमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिमा आलोचना भएको छ । यही वैशाख ७ गतेको जिल्ला समन्वय समितिको बैठकमा जिल्लाका नाकामा आवत–जावत गर्न बन्द गर्ने÷गराउने निर्णय गरिएको भए पनि उक्त नगरपालिकाले गत बिहीबार र शुक्रबार २५ वटा बस रिजर्भ गरेर एक हजार ३६९ नागरिकलाई भित्र्याएको भन्दै समितिको बैठकमा आलोचना गरिएको हो ।

त्यसरी ल्याउँदा गाउँमा कोरोना भाइरसको सङ्क्रमण भित्रिन सक्ने भन्दै समितिका सदस्यहरुले आपत्ति जनाएका छन् । बन्दाबन्दीको अवधिमा पनि कतिपय केन्द्रीयस्तरका नेता तथा स्थानीय तहले शहरमा अलपत्र नागरिकलाई गाउँ लगिरहेको अवस्थामा उक्त नगरपालिकाले पनि नगरबासीलाई घर ल्याएको थियो ।

जिल्लाका नाकामा आवत–जावतमा रोक लगाउने निर्णयमा हस्ताक्षर गरेर फर्किएपछि बैठकको निर्णयलाई उलङ्घन गर्ने काम भएको भन्दै नगरप्रमुखको आलोचना भएको जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङले बताउनुभयो । सो बैठकमा हलेसी तुवाचुङ नगरपालिकाका प्रतिनिधि भने उपस्थित थिएनन् ।

बैठकले काठमाडौँबाट जिल्लाका अन्य स्थानीय तहले पनि सर्वसाधारणलाई घर ल्याउने तयारी गरिरहेको पाइएकाले अत्यावश्यक काममा बाहेक घर ल्याउने कामलाई प्रोत्साहित नगर्न स्थानीय तहलाई अनुरोध गर्ने निर्णय गरेको संयोजक चाम्लिङले जानकारी दिनुभयो । “पछिल्लो समय शहरभन्दा गाउँ असुरक्षित बन्दै गएको छ”, उहाँले भन्नुभयो, “शहरमा रहेका व्यक्तिलाई सोही ठाउँमा आवश्यक राहतको व्यवस्था गरेर जहाँ रहेका छन्, त्यहीँ राख्न उचित हुने देखिन्छ ।”

हलेसी तुवाचुङ नगरपालिकाले होम क्वारेन्टाइनमा राख्ने गरी नगरबासीलाई घर ल्याएको जनाएको छ । घर ल्याइएका व्यक्तिहरुलाई अनिवार्य १४ दिनसम्म होम क्वारेन्टाइन वा क्वारेन्टाइनमा बस्ने, सामाजिक दुरी कायम गरेर परिवारका सदस्यसँग सम्पर्क स्थापित गर्ने, मादक पदार्थ सेवन नगर्ने, स्वास्थ्यमा समस्या भएमा तत्काल स्वास्थ्यकर्मीलाई सम्पर्क गर्ने लगायतका दश बुँदे कबुलियतनामा गराएर घर ल्याइएको नगरप्रमुख इवन राईले बताउनुभयो । “सङ्क्रमण फैलनबाट रोक्न नगरपालिका सचेत छ”, उहाँले भन्नुभयो, “आफूले गरेको कबुलियतनामा उलङ्घन गरेमा कारबाही गरिनेछ । शनिबार मात्रै दुई जनालाई पक्राउ गरेर कारबाही शुरु गरिएको छ ।”

हाल जिल्लाको रावाबेँसी गाउँपालिका, ऐसेलुखर्क गाउँपालिका र साकेला गाउँपालिकाले पनि आफ्नो नागरिकलाई काठमाडौँबाट घर ल्याउने तयारी गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi