बनियानी, १४ वैशाख (रासस)
झापाको सीमावर्ती भारतीय क्षेत्रमा २०० भन्दा बढी नेपाली नेपाल आउने आसमा बसिरहेका छन् । झापासँग सीमा जोडिएको भारतीय बजार गलगलिया, पानीट्याङ्की, नक्सलवाडी क्षेत्रमा २०० भन्दा बढी नेपाली रहेको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिनुभयो ।
“कतिपय नेपाली भारतीय क्वारेन्टाइन, कतिपय आफन्त र कतिपय अलपत्र अवस्थामा रहेका छन्”, सभापति ढकालले भन्नुभयो, “स्वदेश आउनका लागि १५० ले नाम टिपाएका छन्, अरु ५०/६० जना रहेको जानकारी आएको छ ।” उनीहरुलाई स्वदेशमा ल्याउन पहल भइरहेकाले पूर्वतयारी भइरहेको उहाँले बताउनुभयो ।
उनीहरुलाई स्वदेश प्रवेशपछि बस्नका लागि भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसमा क्वारेन्टाइन निर्माण शुरु गरिएको छ । मेची क्याम्पसको साइन्स ब्लक र बीएससीएचआटीको भवनमा करिब २०० श्ययाको क्वारेन्टाइन बनाउन लागिएको जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले बताउनुभयो ।
“सीमा क्षेत्रमा नेपाली रहेका छन्, उनीहरुलाई ल्याउने पहल भइरहेको छ”, उहाँले भन्नुभयो, “त्यसका लागि पूर्वतयारीअनुरुप क्वारेन्टाइन बनाउन लागिएको हो ।” एक सय श्ययाको क्वारेन्टाइन निर्माणका लागि आवश्यक सामग्री तयार रहेको सभापति ढकालले बताउनुभयो । उनीहरु नेपाल आएपछि क्वारेटाइनमा राखेर कोरोना परीक्षणपछि घर जान दिइने सभापति ढकाल बताउनुहुन्छ ।
यता झापामा हालसम्म ७९४ को द्रुत परीक्षण विधिबाट कोरोना परीक्षण गरिएको छ । तीमध्ये १०८ जनाको स्वाब, आरडिटी ७६१, पिसीआर १०८, आरडिटी र पिसीआर दुवै ७५ जनाको गरिएको छ । चार जनाको आरडिटी रिपोर्ट पोजेटिभ आएको छ भने ७५७ को आरडिटी नेगेटिभ आएको छ ।
यस्तै १०० जनाको पिसीआर नेगेटिभ आएको छ भने सात जनाको पिसीआर रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय झापाका महामारी कार्यक्रम संयोजक जीवन चम्लागाईंले जानकारी दिनुभयो । झापाका १५ स्थानीय तहले २७ स्थानमा ७९२ जना क्षमताको क्वारेन्टाइन बनाएका छन् । ती क्वारेन्टाइनमा हाल २०३ रहेका छन् भने २८७ क्वारेन्टाइन अवधि पूरा गरेर घर फर्किसकेका छन् । होम क्वारेन्टाइनमा एक हजार ४६ जना रहेका छन् ।
दमकमा आजदेखि स्वाब सङ्कलन गरिने
झापाको दमकमा आजदेखि स्वाब सङ्कलन गरिने भएको छ । एक ६२ वर्षीय पुरुषमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि कोरोनाको सङ्क्रमण फैलिन नदिन स्वाब सङ्कलन गर्न लागिएको कोरोना भाइरस रोकथाम, उपचार तथा समन्वय अनुगमन समिति झापाका संयोजक सोमनाथ पोर्तेलले जानकारी दिनुभयो ।
“कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन प्रभावित क्षेत्रका मानिसको स्वाब सङ्कलन गर्न लागिएको हो”, उहाँले भन्नुभयो, “यसबाट सङ्क्रमण नियन्त्रण र रोकथाममा सहयोग पुग्नेछ ।” कोरोना पुष्टि भएपछि दमक नगरपालिकाले सङ्क्रमण देखिएको वडा आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाएको छ । नगर उपप्रमुख गीता अधिकारीले सङ्क्रमितको घर र नजिकैको भुटानी शरणार्थी शिविरसमेत सिल गरिएको बताउनुभयो ।