काठमाडौ, बैशाख १०
नेपाली सेनाले कोरोना भाईरस (कोभिड १९) उपचार र रोकथामका बिषयमा भिडियो कन्फरेन्स गरेको छ । सेनाले मंगलबार प्रेसर भिडियो कन्फरेन्स आयोजना गरी कोभिड १९ रोकथाम, नियन्त्रण र उपचारका लागि आवश्यक पर्ने औषधी, उपकरण तथा अन्य सामग्रीहरु खरिद गर्ने“ सम्बन्धमा हालसम्म भएका कार्यको प्रगती विवरण बारे जानकारी गराएको हो ।
सम्मेलन मार्फत सेनाले औषधी, उपकरण तथा अन्य सामग्रीहरु खरिद गर्ने सम्बन्धमा नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७६ चैत्र १६ गतेको निर्णय अनुसार कोभिड १९ को रोकथाम, नियन्त्रण र उपचारका लागि आवश्यक पर्ने औषधी, उपकरण तथा अन्य सामग्रीहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग समन्वय गरी आवश्यकता अनुसार रक्षा मन्त्रालयले नेपाली सेना मार्फत सरकार र सरकार अर्थात जिटुुजी विधिबाट खरिद गर्ने“ भनी नेपाली सेनालाई दिइएको जिम्मेवारीलाई अन्तर्रा्ष्ट्रिय अभ्यास तथा प्रचलन अनुरुप प्रचलित सार्वजनिक खरीद ऐन तथा नियमावलीको परिधिभित्र रहि पारदर्शीका साथ बफादारीपूर्वक छिटो छरितो माध्यमबाट खरिद गर्न देहाय बमोजिमको रणनीति अख्तियार गरिएको जानकारी दिएको छ ।
सार्वजनिक खरिद ऐन, २०६३ को परिच्छेद ५ को दफा ४१ र सार्वजनिक खरिद नियमावली, २०६४ को परिच्छेद २ को नियम १६ मा आधारित रहि आवश्यक औषधि, उपकरण तथा अन्य सामाग्री खरिद इकाई गठन गर्नुका साथै खरिद कार्य व्यवस्थापन निर्दे्शिका तयार गरी लागु गरिएको जानकारी समेत सेनाले दिएको छ । खरिद गरिने औषधी, उपकरण तथा अन्य सामाग्रीहरुको गुणस्तरमा कुनै पनि खालको सम्झौता नगर्ने उद्देश्य अनुरुप सामाग्रीहरुको गुणस्तर तोकिएको मापदण्डद्बारा प्रमाणित भएको एकिन गर्न श्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत विषय बिज्ञ सहित सैनिक तथा गैर सैनिक चिकित्सक एवं समन्वयकर्ता संलग्न गरी गुणस्तर निरक्षण उपसमिति गठन गरिएको सेनाले जनाएको छ ।
खरिदको क्रममा जिरो कमिशनमा आधारित नीतिलाई अवलम्वन गर्नुका साथै स्थानीय एजेन्टहरुको प्रयोग नगरिएको दावी पनि सेनाले गरेको छ । सामाग्रीहरुको उपलव्धता एकिन गर्ने क्रममा श्री रक्षा मन्त्रालयले श्री परराष्ट्र मन्त्रालयको सहजीकरणमा मित्रराष्ट्रहरुमा रहेका दुतावासहरुमार्फत मित्रराष्ट्र चीन लगायत मित्रराष्ट्रहरु भारत, दक्षिण कोरिया, ईजरायल एवम् सिंगापुरसँग मिति २०७६ चैत्र २५ गते आर्थिक प्रस्ताव माग गरी सामाग्रीहरुको उपलब्धताको एकिन गरिनुुको साथै, मिति २०७७ बैशाख ०७ गते मित्र राष्ट्र चीनको सरकारी स्वामित्वमा रहेको चाईना सिनोफार्म इन्टरनेशल कर्पोरेसन संंग अमेरिकी डलर एक करोड ८४ लाख ४१ हजार सात सय छ बराबरको औषधीजन्य सामागी खरिद गर्न सम्झौता भईसकेको पनि सेनाले जनाएको छ ।
हाललाई स्वास्थ्यकर्मीहरुलाई कोरोना भाईरसको रोकथाम, नियन्त्रण र उपचार कार्यको लागि अत्यावश्यक सामाग्रीहरु पि.पि.ई., मास्क, पि.सि.आर. टेस्ट किटहरु हवाई साधनको माध्यमबाट यथाशिघ्र ल्याउन व्यवस्था गरिदै छ । वर्तमान अवस्थामा मितव्ययीतालाई मध्येनजर राख्दै बाँकि सामाग्रीहरु सतही मार्गबाट ढुवानी गरिने योजना समेत भईरहेता पनि अवस्था जटिल भएमा पुनः हवाई साधन कै माध्यमबाट सामाग्री ढुवानी गरिने छ, सेनाले सम्मेलन मार्फत भनेको छ ।
नेपाली सेनाले आफुलाई समयानुकल परिमार्जित परिस्कृत गर्दै चुस्त दुरुस्त बनाउदै मितव्यायी र पारदर्शी हुदै जाने वर्तमान नेतृत्वको उद्देश्य अनुरुप नेपाली सेनाले नेपालको संविधान र प्रचलित ऐन, नियम तथा नेपाल सरकारबाट निर्दिष्ट जिम्मेवारी अनुरुप देश र जनताको हितमा काम गर्दै आएको छ ।सोही अनुरुप महामारीको यस विषम् परिस्थीतिमा कति पनि विचलित नभई नेपाल सरकारले नेपाली सेनालाई दिएको जिम्मेवारी तथा निर्देशनहरु पालना गर्न सिङ्गो संगठन लागि परेको व्यहोरा समेत जानकारी समेत सेनाले गराएको छ ।