काठमाडौँ, ८ वैशाख (रासस)
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बानेश्वरस्थित सङ्घीय संसद् भवनको बैठक कक्षको निरीक्षण गर्नुभएको छ ।
सङ्घीय संसद्को संयुक्त बैठक कक्ष र राष्ट्रियसभाको बैठक कक्षको आज निरीक्षण गर्दै उहाँले सामाजिक दूरी कायम हुने गरी बैठक कक्षको तयारी गर्न सङ्घीय संसद् सचिवालयलाई निर्देशन दिनुभयो ।
अध्यक्ष तिमिल्सिनाले सभाकक्षमा सामाजिक दूरी कायम गरी बस्न मिल्ने गरी व्यवस्थापन मिलाउन सचिवालयलाई निर्देशन दिनुभएको हो । अधिवेशन आह्वान भएको अवस्थामा बैठक बस्नका लागि पूर्ण तयारीमा रहन निर्देशन दिँदै “बैठकको तयारीका सन्दर्भमा प्रत्येक सांसदलाई मास्क, स्यानिटाइजर र सम्भव भएसम्म स्क्यानिङ मेसिनमै स्यानिटाइज हुने व्यवस्था गर्नु”, उहाँले भन्नुभयो ।