neapl investment mega bank
  • गृहपृष्ठ
  • लकडाउनमा पनि धरहरा पुनःनिर्माणको काम जारी

लकडाउनमा पनि धरहरा पुनःनिर्माणको काम जारी

Apr 17th, 2020

– शर्मिला पाठक
काठमाडौँ, ५ वैशाख (रासस)

कोरोना भाइरसका कारण देश पूरै लकडाउनको अवस्थामा रहे पनि एतिहासिक धरहरा पुनः निर्माणको काम भइरहेको छ । कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि सरकाले गत चैत ११ गतेदेखि लकडाउन गरे पनि धरहरा पुनः निर्माणको काम भने रोकिएको छैन ।

गत चैत ९ गतेसम्म नियमित २०० जनाले पुनःनिर्माणको काम गरिरहेका थिए । काममा खटिएका धेरै नेपाली थिए भने २० जना मात्र बङ्गाली रहेका थिए । सप्तरी र दाङका नेपाली कामदारले विभिन्न किसिमबाट घर जाने मेसो मिलाए पनि बंगाली कामदारलाई घर जान समस्या भएपछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले सुरक्षितरुपमा उनीहरुलाई काम गराउन दिएको जनाएको छ ।

ती कामदारले अहिले जगभन्दामुनि पिल्लर राख्ने काम ९माइक्रो पाइल० गरिरहेका छन् । उनीहरुका लागि खाने र बस्ने व्यवस्था भने निर्माण व्यवसायीले गरिदिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सार्वजनिक भवन तथा पूर्वाधार महाशाखाका प्रमुख राजुमान मानन्धरले जानकारी दिनुभयो । प्रमुख मानन्धरका अनुसार दश तलाको ढलान भएसँगै हाल धरहराको ३८ प्रतिशत काम सम्पन्न भइसकेको छ । यी काम सकिँदा रु ९६ करोड सकिएको छ ।

विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पले क्षतिग्रस्त भएको धरहरा पुनःनिर्माणका लागि गत पुस १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणका लागि शिलान्यास गर्नुभएको थियो । सोही समयमा प्रधानमन्त्रीले धरहरामा इतिहास झल्काउँदै आधुनिकता टल्काउने किसिमबाट निर्माण गर्ने बताउनुभएको थियो । हाल सोहीअनुरुप निर्माण भइरहेको निर्माण कम्पनीले बताएको छ ।

पहिलाको धरहराभन्दा नयाँ बन्ने धरहराको चौडाइ ठूलो हुनेछ । जहाँ दुईवटा लिफ्ट पनि हुनेछन् । साथै एउटा परम्परागत भ¥याङ रहनेछ । लिफ्ट र भ¥याङ दुईवटै माध्यमबाट धरहरा चढ्न सकिनेछ । दुई वर्षको अवधिमा निर्माण सम्पन्न गर्ने गरी रमन कन्ट्रक्सनले निर्माण शुरु गरेको धरहरा निर्माणमा रु तीन अर्ब ४८ करोड लागत लाग्ने बताइएको छ । धरहरा २२ तलाको र ७२ मिटर अग्लो हुनेछ । नयाँ धरहरामा बगैँचा, सङ्ग्रहालय, रङ्गीन जलफोहरा, प्रदर्शनी हल, पार्किङस्थल, पसललगायत रहनेछन् ।

नयाँ धरहरा बालबालिका तथा ज्येष्ठ नागरिकमैत्री हुने र त्यहाँ आउने अवलोकनकर्ता सवारीसाधनको व्यवस्थित पार्किङ गर्न सकिने गरी पुनःनिर्माण हुनेछ । पुरातात्विक हिसाबले महत्व बोकेको काठमाडौँलाई सुरक्षित र आकर्षित बनाउन ऐतिहासिक सम्पदाको पुनःनिर्माण अत्यावश्यक भएको काठमाडौँ महानगरपालिकाको भनाइ छ ।

धरहराको १८ औँ तलामा अवलोकलन कक्ष हुनुका साथै धरहरा परिसरमा म्युजियम, वाटर फाउन्टेन, बगैँचा, रेष्टुराँका साथै अत्याधुनिक पार्किङको व्यवस्था गरिने छ । जहाँ ३५० गाडी र छ हजार मोटरसाइकल पार्किङ गर्न मिल्ने बताइएको छ । ११ तले धरहरा विसं १९९० को भूकम्पका कारण क्षतिग्रस्त भएपछि नौ तला रहेको थियो । ऐतिहासिक धरोहर सन् १८३२ मा भीमसेन थापाले निर्माण गर्नुभएको हो ।

तत्कालका लागि गोश्वारा हुलाक कार्यालय रहेको भवन अन्यत्र सार्नका लागि केही समस्या भएकाले काम गर्न अलि कठिन भएको र अबका तीन महिनाभित्र हुलाक कार्यालयलाई बबरमहलमा सार्ने तयारी भएको पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।