–पूर्णप्रसाद मिश्र,
काठमाडौँ, ३ वैशाख (रासस)
राजधानीको उत्तरपूर्वी भेगस्थित काँठ क्षेत्रका नगरपालिकामा बन्दाबन्दीका कारण फोहर नउठ्दा चोकचोकमा प्लाष्टिकका थुप्रो जम्मा गरी बाल्न थालेपछि प्रदूषण बढ्न थालेको छ । गर्मी मौसम शुरु भइसकेकाले फोहरका कारण सङ्क्रामक रोग फैलन सक्नेमा स्थानीयवासी त्रसित छन् । थप समस्या आउन नदिन नगरपालिका समयमै सचेत हुनुपर्ने स्थानीयवासीको माग छ । बन्दाबन्दी भएदेखि नै यस क्षेत्रका नगरपालिकाका ग्रामीण भेगमा फोहर उठेको छैन ।
बूढानीलकण्ठ, गोकर्णेश्वर, कागेश्वरी मनोहरा र शङ्खरापुर नगरपालिकाका वडामा जम्मा भएको प्लाष्टिकलगायत फोहर स्थानीयवासीले बाल्न थालेका हुन् । कागेश्वरी मनोहरा नगरपालिका–५ थलीचौरकी शान्ता सिंखडा एक महीनादेखि नगरपालिकाले फोहर व्यवस्थापन नगरेपछि बस्तीभन्दा तल वाग्मती किनारमा प्लाष्टिक बाल्न बाध्य हुनुपरेको गुनासो गर्नुहुन्छ । प्लाष्टिक बाल्दा वातावरणीय रुपमा नराम्रो असर गर्छ भन्ने थाहा हुँदाहुँदै पनि घरमा प्लाष्टिक, कागजलगायत फोहर थुप्रिएपछि चोकमा थुपारिदिनुभन्दा बाल्नु राम्रो भएकाले यसो गर्नुपरेको उहाँको भनाइ छ । नगरपालिकाको थली, मूलपानी, डाँछी, भद्रबास, आलापोट, गागलफेदीलगायत स्थानमा पनि यस्तो समस्या रहेको स्थानीयवासीको गुनासो छ ।
नगरपालिकाका प्रवक्ता एवं वडा नं.५ का अध्यक्ष राजाराम पुडासैनी वडा नं. १ देखि ५ सम्म ग्रामीण भेग भएकाले हाललाई फोहर उठाउन नसकिएको स्वीकार्नुहुन्छ । वडा नं. ५ देखि ९ सम्म फोहर उठाइएको उहाँले सुनाउनुभयो । गोकर्णेश्वर नगरपालिकाको जोरपाटी, गोकर्ण, बालुवा, नयाँपाटी, सुन्दरीजल क्षेत्रमा पनि फोहर नउठ्दा चोकचोकमा प्लाष्टिकलगायत फोहर बालिन्छ । जसका कारण प्रदूषण फैलने गरेको छ । नगरपालिकाको वडा नं. २ नयाँपाटीमा फोहर बाल्दा घरमा बस्नै नसकिने गरी दुर्गन्ध फैलिएको स्थानीयवासी राजन तामाङको दुःखेसो छ ।
पाँच वर्षअघिसम्म यस क्षेत्रमा स्वच्छ वातावरण थियो । बस्ती बढेसँगै नगरपालिकाले फोहर व्यवस्थापन गर्न नसकेकाले वातावरणीय स्वच्छतामा ह्रास आएको उहाँको भनाइ छ । प्लाष्टिक बाल्दा क्यान्सरजस्ता भयानक रोग लाग्ने तथ्य प्रमाणित भए पनि स्थानीयस्तरमा बेवास्ता भइरहेको छ । नगरपालिका र वडा कार्यालयले यसमा बन्देज नलगाएको स्थानीयवासीको गुनासो छ । मानव अधिकार तथा शान्ति समाजको सभापतिसमेत रहनुभएका सफाइ अभियानकर्मी उत्तम पुडासैनी प्लाष्टिकलगायत फोहर बाल्न प्रतिबन्ध लगाउने गरी सूचना जारी गर्न नगरपालिकालाई पटकपटक अनुरोध गरेपछि सूचना आए पनि औपचारिकतामा सीमित भएको बताउनुहुन्छ ।
“उपत्यकामा छाडा छोडिएका गाई बाच्छा सङ्कलन गर्ने क्रममा धेरै नगरपालिकामा फोहर नउठेको देखियो, कति ठाउँमा फोहर व्यवस्थापनका नाममा प्लाष्टिक बालिएको पाइएको छ, प्लाष्टिक बाल्दा बाल्नेलाई नै क्यान्सर लाग्नसक्ने सम्भावना बढी छ, यसका लागि उचित कदम चाल्न बूढानीलकण्ठ, गोकर्णेश्वर, कागेश्वरी मनोहरा, शङ्खरापुरलगायत नगरपालिकाका नगर प्रमुखलाई अनुरोध गरेका छौँ”, उहाँले भन्नुभयो ।
स्थानीय तहका जनप्रतिनिधिमार्फत प्लाष्टिक नबाल्न चेतना जागृत गर्नसके दीर्घकालीन रुपमा असर गर्ने क्यान्सरजस्ता रोगबाट मुक्ति मिल्ने अभियानकर्मीको भनाइ छ । यस विषयमा जनप्रतिनिधिलाई प्रशिक्षित बनाउन ढिला भइसकेको छ । नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गानाले वडा नं। २ को नयाँपाटी पुलबाट माथिको भागमा फोहर उठ्न नसकेको जानकारी दिनुभयो । नगरपालिकाकै गाडीले फोहर उठाउने स्थानमा नउठेको उहाँले स्वीकार्नुभयो । कोरोना भाइरसको त्रासका कारण बन्दाबन्दीमा घरमै बसेका मानिस गर्मी बढेका बेला फोहर नउठ्दा अन्य सङ्क्रामक रोग फैलने भयले बाँचिरहेका छन् । स्थानीय सरकारले भयरहित रुपमा बस्ने वातावरण नबनाएको नगरवासीको भनाइ छ ।
बूढानीलकण्ठ नगरपालिकाको पैयुँटार, चुनिखेल, भङ्गाललगायतका स्थानमा पनि प्लाष्टिकलगायत फोहर बाल्ने समस्या छ । यसैगरी शङ्खरापुर नगरपालिकाको इन्द्रायणी, साँखु, पालुबारी, बज्रयोगिनी, लप्सेफेदी, पटाप, नाङ्लभारेमा यो समस्या मुक्त हुन नसकेको स्थानीय भगवती दङ्गालले बताउनुभयो । नगरपालिकाको ध्यान कोरोनाबाट बचाउन तिर लागेकाले केही समय प्लाष्टिकलगायत फोहर घरमै जम्मा गरेर राखी कुहिने फोहर खेतबारी वा खुला स्थानमा खाडल खनेर गाड्न सकिनेतर्फ वडा कार्यालयले चेतना जागृत गर्नुपर्ने उहाँको भनाइ छ । काँठ क्षेत्रका नगरपालिकाको वातावरण अझै तुलनात्मक रुपमा स्वच्छ भए पनि प्रदूषित हुनबाट रोक्न भने प्रयास गरेको देखिँदैन ।
काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जोरपाटी–सुन्दरीजल सडक विस्तारका क्रममा गोकर्णेश्वर नगरपालिकाको वडा नं. २ र ४ को बीचमा पर्ने कोलमती खोलामा सिधै ढल हालेको छ । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले यसको विरोध गरे पनि नगरपालिका मूकदर्शक बनेको स्थानीयवासीको गुनासो छ ।
ढलबाट कोलमती खोलामा कालोपानी बगिरहेको देखिन्छ । ढल मिसाइएको गोकर्णको किसिगालबाट १०० मिटर तल कोलमती खोला वाग्मतीमा मिसिन्छ । ढल मिसाइएको पानी नदीमा खुला बग्ने भएकाले विभिन्न रोगका कीटाणु फैलने खतरा बढेको स्थानीयवासीको गुनासो छ ।