neapl investment mega bank
  • गृहपृष्ठ
  • चौँतीस ब्राजिलियाली बोकेर दिल्ली उड्यो नेपाल एयरलाइन्स

चौँतीस ब्राजिलियाली बोकेर दिल्ली उड्यो नेपाल एयरलाइन्स

Apr 14th, 2020

काठमाडौँ, २ वैशाख (रासस)

राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को न्यारोबडी जहाज ३४ ब्राजिलियाली नागरिक लिएर नयाँ दिल्ली उडेको छ । न्यारोबडी ए ३२० जहाजले चार्टर्ड उडानमार्फत नेपालमा रोकिएका ब्राजिलियाली नागरिकलाई लिएर नयाँ दिल्ली गन्तव्यमा उडान भरेको निगमले जनाएको हो ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट दिउँसो नयाँ दिल्ली गएको जहाज आज साँझ ५ः०० बजे स्वदेश फर्कने निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभयो । निगमको वाइड बडी जहाजले चीनको ग्वाङ्जाओलगायत गन्तव्यमा कार्गो उडान गर्ने तयारी गरिरहेको छ । यसअघि चैत २८ गते ग्वाङ्जाओ उड्ने कार्यतालिका रहे पनि अन्तिम समयमा आएर उडान स्थगन गरिएको थियो । चीनबाट चिकित्सा सामग्री ल्याउन व्यवसायीले वाइड बडी जहाज चार्टर्ड गरेका थिए । अन्तिम समयमा व्यवसायीकै कारण निगमले उडान रोक्नुपरेको थियो ।

लकडाउनका अवधिमा निगमको अन्तरराष्ट्रिय उडान सर्वाधिक भएका छन् । सबैभन्दा बढी उडान गर्ने कतार एयरवेजको १० उडानपछि निगम दोस्रो स्थानमा छ । निगमले यस अवधिमा पाँच अन्तरराष्ट्रिय उडान भरेको छ । यीमध्ये तीन उद्धार उडान र दुई कार्गो उडान हुन् । निगमको वाइड बडीले चैत १६ गते चीनको ग्वाङ्जाओबाट कोभिड–१९ को १३ हजार केजी चिकित्सा सामग्री ल्याएको थियो । त्यस्तै चैत २० गते कोभिड–१९ को औषधि तथा उपकरण लिन चार्टर्ड गरिएको वाइड बडी जहाज ग्वाङ्जाओ उडेको थियो ।

त्यसैगरी चैत १९ गते निगमको वाइड बडी जहाज चार्टर्ड उडानमार्फत अष्ट्रेलियाली र न्यूजील्याण्डका नागरिक बोकेर मलेसिया हुँदै अष्ट्रेलियाको शहर ब्रिशवन पुगेको थियो । चैत २८ गते पनि निगमको वाइड बडी जहाजले जापानको नारिता अन्तरराष्ट्रिय विमानस्थलमा सीधा उडान भरेको थियो । जापान सरकारले निगमको वाइड बडी चार्टर्ड गरी आफ्ना नागरिक स्वदेश लगेको थियो । वाइड बडी ए–३३० दुई र न्यारोबडी ए—३२० सिरिजका दुई थान जहाजबाट निगमले भारतका तीनसहित नौ गन्तव्यमा अन्तरराष्ट्रिय उडान भर्दै आएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi