neapl investment mega bank
  • गृहपृष्ठ
  • कोरोनाका कारण सुदूरपश्चिमको मौलिक संस्कृतिको रूपमा मनाइने बिसुपर्व तीन स्थनीय तहमा मनाउन रोक

कोरोनाका कारण सुदूरपश्चिमको मौलिक संस्कृतिको रूपमा मनाइने बिसुपर्व तीन स्थनीय तहमा मनाउन रोक

Apr 12th, 2020

दार्चुला, ३० चैत (रासस)

सुदूरपश्चिमको मौलिक संस्कृतिको रूपमा मनाइने बिसुपर्व यो वर्ष नमाइने भएको छ ।

विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसका कारण देश लकडाउन रहेको अवस्थामा बिसुपर्व मनाउन रोक लगाइएको हो । विश्वव्यापीरूपमा माहामारीको रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण फैलिन सक्ने भन्दै दार्चुलाको नौगाड, मार्मा र अपिहिमाल गाउँपालिकामा विगतका वर्षमा सांस्कृतिकरूपमा मनाइँदै आएको बिसुपर्व यो वर्ष रोक लगाइएको हो ।

सरकारले देश लकडाउन राखेको अवस्थामा यस्ता चाडपर्व नमाउन तथा भीडभाड नगर्न तीनवटै स्थानीय तहले अपिल गरेका छन् । सुदूरपश्चिमको दार्चुलाको नौगाड गाउँपालिकाको सिप्टी र मार्मा गाउँपालिकाको घोल्जरमा सबैभन्दा ठूलो पर्वका रूपमा बिसु मनाइने गरिएको छ ।

नयाँ वर्ष २०७७ प्रारम्भ भएको दिनमा यस क्षेत्रमा एक सातासम्म धुमधामका साथ बिसुपर्व मनाइने गरिएको थियो । स्थानीयस्तरमा भेटघाट तथा शुभकामना आदानप्रदान गर्ने अवसरका रूपमा बिसुलाई लिइँदै आएकामा अहिले राष्ट्र कोराना भाइरसको सङ्कटमा परेका कारण बिसुपर्व मनाउन रोक लगाइएको नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिंह धामीले जानकारी दिनुभयो ।

गाउँपालिकाले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै विषम परिस्थितिमा नयाँ वर्षको अवसरमा मनाइने बिसुपर्व नमाउन तथा आयोजना नगर्न आग्रह गरेको छ । अपिलमा भनिएको छ, “देशको यस सङ्कटको घडीमा राष्ट्रलाई बचाउन यो पटक बिसुपर्व आयोजना नगरौँ ।”

यस्तै मार्मा गाउँपालिका–१ को वडा समितिले अहिलेको परिस्थितिमा सामाजिक, सांस्कृतिक गतिविधि हुने बिसुपर्व नमाउन आग्रह गरेको छ । वडाध्यक्ष वीरेन्द्रसिंह बोहराले कोराना भाइरसको सङ्क्रमणका कारण देश विषम परिस्थितिमा रहेको समयमा यस्ता चाडबाड र भीडभाड हुने गतिविधि नगर्न वडावासीमा आग्रह गरिएको जानकारी दिनुभयो ।

गाउँपालिका र वडा पूरै लकडाउन गरिएको अवस्थामा यस्ता सामाजिक गतिविधि र सांस्कृतिक पर्व मनाइएको पाइएमा मुलुकी अपराध संहिता ऐन, २०७४ को दफा १०४ को उपदफा १ अनुसार कारवाही हुने सूचनामा उल्लेख गरिएको छ । यसैगरी अपिहिमाल गाउँपालिकाले पनि सार्वजनिक अपिल गर्दै देश लकडाउनमा रहेको अवस्थामा गाउँपालिकामा हुने चाडबाड, बिसुपर्व, विवाह, व्रतबन्ध, भोजभतेरजस्ता गतिविधि नगर्न आग्रह गरेको गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालयले समेत यसअघि नै सार्वजनिक अपिल गर्दै जिल्लामा मनाइने बिसुपर्व नमनाउन तथा सभासम्मेलन नगर्न नगराउन आग्रह गरिसकेको छ । विगतका वर्षमा दार्चुलालगायत सुदरपश्चिमका विभिन्न जिल्लामा नयाँ वर्ष आउनुभन्दा पहिला नै घर छिमेकमा वर्षभरि नै सुख, शान्ति र समृद्धिको कामना गर्दै धुमधामका साथ बिसुपर्व मनाइने गरिन्थ्यो ।

यहाँका स्थानीयवासी अधिकांश भारतमा काम गरेर बिसुपर्वमा घर फर्किने गर्छन् । यो वर्ष लकडाउनका कारण स्थानीयवासी बिसुपर्वभन्दा अगावै गाउँ फर्किएका छन् भने कतिपय अहिले भारतीय बजार धार्चुलाका क्वारेन्टाइन र कोही गाउँकै क्वारेन्टाइनमा बसेका छन् ।

aadharbhumi
aadharbhumi
aadharbhumi