neapl investment mega bank
  • गृहपृष्ठ
  • घरघर एवं हनुमान मन्दिरमा पूजा आराधना गरी मनाइयो हनुमान जन्मोत्सव

घरघर एवं हनुमान मन्दिरमा पूजा आराधना गरी मनाइयो हनुमान जन्मोत्सव

Apr 8th, 2020

काठमाडौँ, २६ चैत (रासस)

घरघर एवं हनुमान मन्दिरमा रामभक्त हनुमानको पूजा आराधना एवं पाठ पारायण गरी हनुमान जन्मोत्सव पर्व मनाइएको छ । प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन हनुमान जयन्तीका रुपमा महोत्सव मनाउने गरिन्छ । यस अवसरमा विगत वर्षमा मारवाडी सेवा समिति, अग्रवाल सेवा केन्द्र, बजरङ्ग सत्सङ्ग मण्डल, हनुमान आराधना सेवा मण्डललगायत संस्थाले विशेष पूजाआराधनासहित रथयात्रासमेत निकाल्थे ।

यस वर्ष कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दी ९लकडाउन० का कारण नियमित पूजामात्र गरिएको बजरङ्ग सत्सङ्ग मण्डलका उपाध्यक्ष कृष्णकुमार अग्रवालले बताउनुभयो । हनुमानढोकास्थित हनुमान मन्दिरमा विशेष पूजा आराधना गरी विभिन्न अस्पतालमा उपचाररत एक हजार जना बिरामी एवं तिनका आफन्तलाई प्रसादसहित भोजन गराइएको जानकारी पनि उहाँले दिनुभयो । हनुमानढोका दरबारअघि मन्दिरमा हनुमान चालीसाको पाठ पारायण पनि गरिएको थियो ।

यस वर्ष पाँच–सात भक्तजनले निरन्तरतास्वरुप मात्र पूजाआराधना गरेका हुन् । बन्दाबन्दी नभएको वर्ष भने हनुमानढोकाको कार्यक्रममा भक्तजनको भीड हुन्थ्यो । हनुमान अष्टचिरञ्जीवीमध्ये पर्नुहुने शास्त्रीय ग्रन्थमा व्याख्या गरिएकाले पञ्चाङ्ग ९पात्रो० मा लेखिँदै आएको हनुमान जयन्तीका स्थानमा हनुमान जन्मोत्सव लेख्न मण्डलले अनुरोध गर्ने जनाएको छ ।

मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुरामलाई अष्टचिरञ्जीवीका रुपमा पूजाआराधना गर्ने शास्त्रीय विधि छ । आठैजना अहिलेसम्म जीवित रहेको विश्वास गरी वैदिक सनातन धर्मावलम्बीले आफ्नो जन्मोत्सवका दिनमा अष्टचिरञ्जीवीको विधिपूर्वक विशेष पूजा गर्छन् ।

यस अवसरमा कुलेश्वरको हनुमान मन्दिर, गोकर्णेश्वर उत्तरवाहिनीस्थित पञ्चमुखी हनुमान मन्दिरलगायत देशभरका हुनमान मन्दिरमा विशेष पूजाआराधना गरिएको जनाइएको छ । यसैगरी हनुमानका भक्तले घरघरमा पनि हनुमानको पूजाआराधनासहित हनुमान चालीसा, रामायणलगायत ग्रन्थ पाठ गरेका छन् ।

त्रेतायुगमा पवन र अञ्जनीका पुत्रका रुपमा हनुमानको जन्म भएको थियो । रामायणमा वर्णन गरिएअनुसार रावणको अत्याचारबाट पृथ्वीलाई मुक्त गर्न श्रीरामभक्तका रुपमा हनुमानले योगदान दिनुभएको थियो । रावणले सीता हरण गरेर लगेपछि खोजी गरी पतिपत्नीको पुनर्मिलन गराउन हनुमानले भूमिका निर्वाह गर्नुभएको रामायणलगायत ग्रन्थमा उल्लेख छ ।

अत्यन्त बलशाली एवं सङ्कट विनाशक व्यक्तित्व हनुमानको पूजाआराधना गर्नाले चिताएको पुग्ने, डर, त्रासबाट मुक्ति मिल्ने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ । कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने त्रासमा घरघरमै बन्दाबन्दीमा बसेका मानिसका लागि हनुमानको पूजाआराधना एवं पाठ पारायणले मानसिक रुपमा शान्ति र आशाको सञ्चार गर्ने उहाँको भनाइ छ ।