neapl investment mega bank

बालाजु बाइसधारा मेला स्थगित

Apr 7th, 2020

काठमाडौँ, २४ चैत (रासस)

हरेक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन लाग्ने बालाजु बाइसधाराको मेला यस वर्ष कोभिड– १९ का कारण स्थगन गरिएको छ । कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने भएकाले यस वर्ष बुधबार मेला आयोजना नगरिए पनि पूजाराधना भने गरिने बालाजु बाइसधारा मूल पुजारी थकाली धनलाल महर्जनले बताउनुभयो ।

विभिन्न समयमा भएका राजनीतिक र अन्य विषम परिस्थितिमा समेत सो मेलाले निरन्तरता पाएको थियो । बाइधारा क्षेत्रवासी एवं शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले पनि सदियौँदेखि चलिआएको यो मेला यस वर्ष स्थगन गरिएको बताउनुभयो ।

मन्त्री मानन्धरले यो जात्रा अर्थात् मेला इतिहासमा पहिलो पटक स्थगन भएको बताउँदै नित्य पूजा र अन्य पूजा भने चलिरहने व्यवस्था मिलाइएको जानकारी दिनुभयो । जात्राका दिन बाइसधारामा स्नान गरी मृत आफन्तका नाममा बत्ती बाल्ने परम्परा छ । यसै दिन नुवाकोटको कडल्चोक भगवतीलाई पनि बालाजुमा ल्याएर त्यहाँ रहेको हालको सेतो पाटीमा राखी हवन तथा राँगाको बलि दिइन्छ । मनमैजु देवीको जात्रासँग पनि बालाजु बाइसधाराको प्रसङ्ग जोडिएको छ । नेवार समुदायले मनाउने ल्हुती पूर्णिमाको मेलासँगै मनमैजु जात्रा पनि शुरु हुने परम्परा थियो ।

यस दिन बालाजुको बाइसधारामा नुहाएर मनमैजु देवीको दर्शन गरेमा आफ्नो मनोकामना पूरा हुने धार्मिक जनविश्वास छ । बाइसधारामा नुहाउँदा छालाका रोगसमेत निको हुने भक्तजन बताउँछन् । किंवदन्तीअनुसार विपस्वी बुद्धले कमलको फूल रोपेर मन्त्रोच्चारण गर्दा यहाँ स्वयम्भू ज्योतिरुप उत्पत्ति भएको थियो । यसै मान्यतानुसार बाइसधारा जात्रा मनाइने चलन रहिआएको मानिन्छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi