neapl investment mega bank
  • गृहपृष्ठ
  • स्वास्थ्यमन्त्री ढकालको फेरिएको दैनिकी

स्वास्थ्यमन्त्री ढकालको फेरिएको दैनिकी

Apr 6th, 2020

–शरद शर्मा
काठमाडौँ, २४ चैत (रासस)

कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि सरकारले बन्दाबन्दी (लकडाउन) गरेको आज चौधौँ (१४) दिन हो । लकडाउनको १४औँ दिन पुग्दा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालको पनि दैनिकी बद्लिएको छ । उहाँको अहिलेको दैनिकी मन्त्रालयमा गएर त्यहाँका कर्मचारीसँग छलफल गर्ने मात्र नभएर कोभिड–१९ नियन्त्रणका लागि के गर्न सकिन्छ, त्यसमा स्वास्थ्यविज्ञसँग निरन्तर छलफलमा केन्द्रित हुने गरेको छ ।

बिहानदेखि रातिसम्म प्रधानमन्त्री केपी शर्मा ओलीदेखि लिएर सरोकारवाला मन्त्री तथा चिकित्सक र स्वास्थ्यकर्मीसँग कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि अपनाइने विभिन्न विषयमा नियमित संवादमा उहाँ हुनुहुन्छ । मन्त्री ढकालले कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति र कोभिड–१९ को नियन्त्रण तथा प्रतिकार्यका लागि बनेको सङ्कट व्यवस्थापन समितिको सदस्यका रुपमा रहनुभएको छ । ती समितिको बैठकमा पनि उहाँले अनिवार्य सहभागी भएर कोभिड–१९ को न्यूनीरकण तथा नियन्त्रणका लागि सरकारले चाल्नु पर्ने कदमबारे छलफल गर्नुहुन्छ ।

विभागीय मन्त्री भएकाले पनि उहाँको जिम्मेवारी अहिले बढेकाले पनि उहाँ अहिले बढी खट्ने उहाँका स्वकीय सचिव भुवन खतिवडाले जानकारी दिनुभयो । “लकडाउन भएपछि उहाँको दैनिकी फेरिएको छ”, मन्त्री ढकालको भतिजा सौगात ढकालले भन्नुभयो, “बिहानदेखि साँझसम्म कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न आयोजित बैठकमा व्यस्त हुुनुहन्छ ।”

लकडाउनसँगै उहाँको दैनिकमा आएको परिवर्तनले उहाँको साँझको खाने र सुत्ने समय निश्चित छैन । बिहान भने सधैँ ८ बजे खाना खानुहुन्छ । “बिहानको खाना भने समयमा नै खानुहुन्छ । त्यसपछि दिउँसो खाजा र रातिको खानाको निश्चित हँुदैन”, उहाँका भतिजा ढकालले भन्नुभयो, “मन्त्री निवास पुगेपछि सबैसँग फोन संवाद गर्दा उहाँको रातिको १२ बज्छ । त्यसपछि मात्र सुत्नुहुन्छ ।” राति सुत्नुभन्दा अगाडि कोभिड–१९ का सन्दर्भमा सामाजिक सञ्जालमा आएका विभिन्न प्रतिक्रिया हेर्नुहुन्छ ।

मन्त्री ढकालले अचेल साढे ८ देखि ९ बजेको बीचमा मन्त्रालय पुगिसक्नुहुन्छ । बिहान मन्त्रालय पुगेपछि सचिव यादव कोइराला विभागी प्रमुख, आफ्ना सचिवालयका सदस्य र चिकित्सकसँगको छलफलमा एक छिन ब्रिफिङ सुनेर सिंहदरबारमा हुने महत्वपूर्ण बैठकमा सहभागी हुनुहुन्छ ।

आकस्मिक बैठकबाहेक उहाँ मन्त्रालयमा नै रहनुहुन्छ । मन्त्रालयमा बस्दा मन्त्रालयका उच्चपदस्थ कर्मचारी, चिकित्सक तथा सञ्चरकर्मीसँग व्यस्त हुनुपरेको स्वकीय सचिव खतिवडाले बताउनुभयो ।

नेपालमा कोभिड–१९ को सङ्क्रमणको दोस्रो चरणमा प्रवेश गरिसकेकाले पनि मन्त्री ढकाललाई थप चुनौती थपिएको छ । विदेशबाट आएकाबाट केही दिनअघि एक जनामा सङ्क्रमण ९सोसल ट्रान्समिसन० भेटिएपछि उहाँले अब कसरी यसलाई रोक्न सकिन्छ भन्नेतर्फ गम्भीर भएर लाग्नुभएको मन्त्रालयका स्वास्थ्य विज्ञ सल्लाहकार डा खेम कार्कीले बताउनुभयो ।

उहाँले अहिले अरुबेला राजनीतिक पार्टीका नेता तथा कार्यकर्तालाई दिइने समय चिकित्सक र कोरोना नियन्त्रणमा दिनुभएको उहाँको स्वकीय सचिव खतिवडाको भनाइ छ । “अहिले उहाँको कसैसँग पनि राजनीतिक कुरा हुँदैन”, उहाँले भन्नुभयो, “कसरी कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न सकिन्छ भनेर मात्र उहाँको ध्यान केन्द्रित भएको छ ।” प्रधानमन्त्री केपी शर्मा ओलीसँग निरन्तर फोन संवाद र आवश्यक परे प्रधानमन्त्री निवास बालुवाटारमा समेत उहाँ जाने गर्नुभएको छ ।

उहाँको दैनिकजसो बैठकबाहेक दिनमा एकपटक कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक तथा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई भेट्नुहुन्छ भने दिनमा आवश्यकताअनुसार उहाँसँग फोनमा पनि संवाद गर्नुहुन्छ ।

यसैगरी उहाँ अर्थ एंव सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडा, गृहमन्त्री रामवहादुर थापा, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, उद्योग तथा आपूर्तिमन्त्री लेखराज भट्टसँग पनि नियमित समन्वय र सम्पर्कमा हुनुहुन्छ ।

दिनभरिको व्यस्ततापछि राति ९ बजेतिर मन्त्री ढकालले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि मन्त्रालयले गठन गरेका विभिन्न समितिका संयोजकसँग व्रिफिङ लिनुहुने भतिजा सौगात ढकालले बताउनुभयो । वैदेशिक समन्वय, आपूर्ति व्यवस्थापन, प्रयोगशाला व्यवस्थापन, सूचना व्यवस्थापन, कर्मचारी व्यवस्थापनका संयोजकसँग भएका दैनिक प्रगतिबारे उहाँले आफँै फोन गरेर व्रिफिङ लिने गर्नुहुन्छ ।

मन्त्री ढकालले मन्त्रालयका स्वास्थ्य विज्ञ सल्लाहकार डा कार्की, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा भगवान् कोइराला, मेडिकल सुपरिटेन्डेन्ट डा गुणराज लोहनीसँग पनि नियमित छलफल गर्नुहुन्छ ।

यसैगरी आज पनि सोमबार लकडाउनका १४औ दिन उहाँ बिहान ९ बजे नर्भिक इन्टरनेसनल अस्पताल तथा वसन्त चौधरी फाउन्डेसनले उपलब्ध गराएको स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा सहभागी हुुनुभयो । त्यो कार्यक्रम सकिएलगत्तै उहाँ शुक्रबार र आइतबार कोरोना हब अस्पतालका लागि तोकिएका छ वटा अस्पतालको अनुगमन प्रगतिका बारेमा विफ्रिङ लिनुभएको मन्त्रालयका स्वास्थ्यविज्ञ सल्लाहाकार डा कार्की जानकारी दिनुभयो ।

त्यसपछि मन्त्री ढकालले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकमा १०ः३० बजे सिंहदरबार पुग्नुभयो । समितिको बैठक सकेर पुनःरक्षामन्त्रालयमा औषधिजन्य खरिदबारे रक्षामन्त्री पोखरेलसँग अर्को बैठकमा सहभागी हुनुभयो । मन्त्री ढकालले त्यो बैठक सकेर पुनःप्रधानमन्त्री निवास बालुवाटारमा २ बजे बस्ने मन्त्रिपरिषद् बैठकमा सहभागी हुनुुभयो ।