काठमाडौं, २९ असोज
सर्बियामा अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १४१ औं सम्मेलनमा सहभागी हुन सर्बियाको बेलग्रेड पुगेका विभिन्न देशका प्रमुख तथा प्रतिनिधि नेपाल भ्रमणका लागि निम्ता गरिएको छ ।
भ्रमण वर्ष २०२० को अवसरमा नेपाल भ्रमणको निम्ता तथा नेपाल सरकारले तयार पारेको प्रर्वधन सामाग्री हस्तान्तरण गरिएको हो । आईपीयूमा सहभागी हुन राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना नेतृत्वमा संघीय संसदको प्रतिनिधिमण्डल बेलग्रेडमा छ । सो क्रममा अध्यक्ष तिमिल्सिना तथा प्रतिनिधिमण्डलका सदस्यहरुले नेपाल भ्रमणका लागि सहभागीहरुलाई निम्ता गरेका छन् ।
प्रतिनिधिमण्डलमा राष्ट्रिय सभा सदस्यहरु खिमलाल भट्टराई र बद्रीप्रसाद पाण्डे तथा प्रतिनिधि सभा सदस्यहरु देवप्रसाद तिमिल्सिना, इन्दु कुमारी शर्मा र रुही नाज सहभागी रहेका छन् । त्यसैगरी संघीय संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई, राष्ट्रिय सभा सचिव राजेन्द्र फुयाँल र प्रेस विज्ञ अशोक पौडेल सहभागी रहेकाछन । नेपाल लगायत १७१ राष्ट्रका संसद र अन्य ११ एसोसियट सदस्य भएको आईपीयूको १४१ औं सम्मेलन अक्टोबर १७ सम्म चल्नेछ ।