काठमाडौं, २९ असोज
गैर आवासिय नेपालीहरुले आफुहरु नेपालमा लगानी ल्याउन तयार रहेको तर देशको रेटिङ नहुँदा समस्या भएको बताएका छन् । साथै दोहोरो करबाट उन्मुक्ति दिन नसकेकाले पनि लगानी आउन नसकेको उनीहरुको तर्क छ ।
गैर आवासीय नेपाली संघको पूर्व अध्यक्ष जिवा लामीछानेले गैर आवासीय नेपालीलाई दोहोरो करबाट उन्मुक्ती दिनुपर्ने बताए । जसको लागि सरकारले विभिन्न देशहरुसँग सम्झौता गर्नुपर्छ । अहिले यस्तो सम्झौता १० वटा देशहरुसँग मात्रै छ । नेपालमा आएको लगानीले यहाँ र फेरी लगानी ल्याएको मुलुकलाई पनि प्रतिफलको कर तिर्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने उनको तर्क छ । अर्थमन्त्री युवराज खतिवडाले भने गैर आवासीय नेपालीहरुलाई फलाम खानी, पेट्रोलियम अन्वेषण र पर्यटनमा लगानी गर्न आग्रह गर्नुका साथै उनले पूर्वाधार, शिक्षा, स्वास्थ्य पनि लगानीका लागि आब्हान गरेका छन् ।
यसरी लगानीका लागि रेटिङ बाधक भएको बताएपछि अर्थमन्त्री खतीवडाले भने ‘ देशको रेटिङ गराउनका लािग एजेन्सी चयन भइसकेको छ र अब यसको नतिजा दुई देखि तीन महिनाभित्रै आउछ ।’ रेटिङको काम सकिएपछि प्रत्यक्ष बैदेशिक लगानी भित्राउन सहज हुने खतिवडा समेत ढुक्क छन् ।
सरकारले लगानी गर्न आग्रह गर्दै गरेका बेलामा प्रतिपक्ष दलका नेता तथा पूर्वअर्थमन्त्री रामशरण महतले देशमा भौतिक पूर्वाधार तथा यातायातको असुविधका कारणले गर्दा वैदेशिक लगानी आउन नसकेको बताए ।
उनले भने ‘नेपालमा वर्षेनि १२ देखि १५ अर्बको हाराहारीमा बैदेशिक लगानी आएको छ, र हामी दक्षिण एसियामै सबैभन्दा कम बैदेशिक लगानी भित्राउने राष्ट्रको रुपमा चिनीएका छौं ।’ वैदेशिक लगानी भित्राउनका लागि सरकारी संयन्त्रहरु समेत बलियो बनाउनुपर्ने उनको तर्क छ । सामुहिक लगानी कोष भित्राउनका लागि सरकारले बाटो खोलिदिइसकेको तर यो भने गैर आवासिय नेपाली संघबाटै यसमा ढिलाई भइरहेको छ ।