neapl investment mega bank

विदुरद्वारा पाँच सय मजदूरलाई राहत

Apr 5th, 2020

नुवाकोट, २३ चैत(रासस)

कोभिड–१९को संक्रमणको जोखिम रोक्न सरकारले लकडाउन गरेका कारण अर्थाभावले दैनिक गुजारा चलाउन समस्या भएका परिवारलाई विदुर नगरपालिकाले राहत वितरण गर्न शुरु गरेको छ । नगरपालिकाले शनिबार वडा नं ३, ४, ६, ७ र १२ मा विपन्न परिवार तथा दैनिक ज्यालादारी गरी जीविकोपार्जन गर्दै आएका करीब पाँच सय मजदूरलाई राहत प्रदान गरेको हो । यसअघि वडा नं १ मा पनि राहत वितरण गरिसकिएको छ ।

हालसम्म ६ वटा वडाका ५३६ जनालाई राहत प्रदान गरिएको नगर प्रमुख सञ्जु पण्डितले जानकारी दिनुभयो । पण्डितका अनुसार अन्य वडामा राहतका लागि विपन्न परिवारको नाम संकलन भइसकेको छ ।

नगर क्षेत्रका असंगठित मजदूर र विपन्न परिवारलाई कम्तीमा एक साताका लागि पुग्ने खाद्य पदार्थ उपलब्ध गराइएको छ । संगठित क्षेत्र इँटाभट्टा र कलकारखानाका मजदूरलाई भने सम्बन्धित मालिकले नै काम नभएका बेलामा पनि खाद्य सामग्री दिनुपर्ने नीति बनाइएकाले संगठित क्षेत्रका मजदूरलाई भने नसमेटिएको प्रमुख पण्डितले बताउनुभयो ।

परिवारमा १५ वर्ष उमेरमाथिको परिवार संख्याका आधारमा खाद्य सामग्री प्रदान गरिएको छ । प्रतिव्यक्ति पाँच किलो चामल, एक लिटर तेल, एक एक किलो दाल र नुन तथा दुई साबुन उपलब्ध गराइएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi