neapl investment mega bank
  • गृहपृष्ठ
  • सङ्कटमा स्थानीय तहको कामले सङ्घीयताको औचित्य पुष्टि

सङ्कटमा स्थानीय तहको कामले सङ्घीयताको औचित्य पुष्टि

Apr 3rd, 2020

– भीष्मराज ओझा,
काठमाडौँ, २१ चैत (रासस)

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोना भाइरसको सङ्क्रमणले सङ्घीयताको औचित्य पुष्टि भएको बताउनुभएको छ । उहाँले स्थानीय तहले सङ्कटका बेलामा देखाएको कामले सङ्घीयता र स्थानीय तहको अधिकार आवश्यक थियो भन्ने पुष्टि भएको बताउनुभएको हो । नेता पौडेलले स्थानीय तहले क्वारेन्टाइन बनाउनेदेखि गरिब विपन्नलाई राहत दिनेजस्ता काम गरेकामा प्रशंसा गर्दै स्थानीय तहमा जनप्रतिनिधिलाई प्रशिक्षित बनाउन सकेको भए सङ्कटका बेलामा अझै क्षमता देखाउन सक्ने पनि स्पष्ट पार्नुभएको छ ।

वरिष्ठ नेता पौडेलले आज सामाजिक सञ्जालमार्फत अहिलेको विषम परिस्थितिमा सरकारले केही राम्रा काम गरेको भए पनि पर्याप्त काम गर्न नसकेको भन्दै असन्तुष्टि जनाउनुभयो । राज्यको भूमिका बारेमा सरकारमा बसेकाहरुले नजरअन्दाज गरेको आरोप लगाउँदै उहाँले सङ्कटका बेलामा राज्यको भूमिका खड्किएको आमनागरिकले महसुस गरेको दावी गर्नुभयो । कोरोना भाइरसको सङ्क्रमणबाट नेपालमा आत्तिनुपर्ने अवस्था नभएको भन्दै उहाँले संयमित भई आत्मविश्वास बढाएर सरकारले जारी गरेको लकडाउनलाई विवेकपूर्ण उपयोग गर्न आमनागरिकलाई आपिल गर्नुभयो ।

अनियमितताबारे छानविनको माग

वरिष्ठ नेता पौडेलले कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा उपचारका लागि स्वास्थ्य सामग्री खरिदमा देखिएको भनिएको अनियमितताको छानविन गर्न माग गर्नुभएको छ । उहाँले सरकार स्वास्थ्य सामग्री खरिदमा भएको देखिएको भ्रष्टाचार ढाकछोप गर्न लागेको आशङ्का गर्दै भ्रष्टाचारमा जोसुकै संलग्न भए पनि तत्काल छानविन गरी कारवाहीको माग गर्नुभएको छ ।

नेपाली सेनाले गर्ने खरिद प्रक्रियामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गर्दैन भन्ने मानसिकतामा सरकार देखिएको उहाँको आरोप छ । उहाँले चीनमा कोरोनाको सङ्क्रमण देखिएकै अवस्थाबाट किन नेपाल सरकारले पर्याप्त तयारीमा नलागेको भनी प्रश्न गर्नुभयो ।

समयमै विदेशबाट आएकाको पहिचान नहुँदा त्रास

कोरोना भाइरस सङ्क्रमण फैलिएका मुलुकबाट आएका नेपाली नागरिकको पहिचान गर्न नसकेका कारण आमनागरिकमा त्रास फैलिएको भन्दै विदेशबाट आएका नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा आफूलाई पु¥याउँदै स्थानीय तहको सम्पर्कमा बसी राज्यलाई सङ्कटमा सहयोग गर्न उहाँले अपिल गर्नुभएको छ । नेता पौडेलले आमनेपाली काँग्रेसका कार्यकर्तालाई स्थानीयस्तरमा आफँै निर्वाचित जनप्रतिनिधि जस्तो भएर आफू र आफ्नो समाज जोगाउने काम लाग्नसमेत निर्देशन दिनुभयो । अहिलेको विषम परिस्थितिले विश्वमा हराउँदै गएको मानवीयता र वातावरण विरोधी विकासको बारेमा समीक्षा गर्नुपर्ने बेला आएको नेता पौडेलको भनाइ छ ।

विश्वलाई बजारीकरणका कारण गुमाउँदै गएको मानव–मानवबीचको सद्भाव र मानवीयता देखाउने अवसर मिलेको बताउँदै नेता पौडेलले विश्वले अब विकासको अहिलेको मोडेल परिवर्तन गरी प्रकृत्ति मैत्री विकासको मोडेललाई आगाडि बढाउन लाग्नुपर्ने बेला आएको बताउनुभयो ।