neapl investment mega bank
  • गृहपृष्ठ
  • ‘महासंघले बिहीबार निकालेको विज्ञप्ति संस्थागत होइन

‘महासंघले बिहीबार निकालेको विज्ञप्ति संस्थागत होइन

Apr 3rd, 2020

काठमाडौँ, २१ चैत (रासस)

नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले बिहीबार जारी गरेको प्रेस विज्ञप्ति संस्थागत नभई व्यक्तिगत भएको महासंघका केन्द्रीय सदस्यले जनाएका छन् । महासंघका केन्द्रीय सदस्य गोविन्दप्रसाद चौलागाईँ, टेकराज थामी, द्वारिका काफ्ले, सटेन्द्र जबेगू, श्वेता सिन्हा, छेटू शेर्पा, मधु शाही, रामकृष्ण ज्ञवाली र कृष्ण गिरीले आज संयुक्त रुपमा जारी गरेको प्रेस विज्ञप्तिमा गर्विलो इतिहास बोकेको साझा संस्था महासंघ जस्तो गरिमामय संस्थाका महासचिव रमेश विष्टमार्फत आएको विज्ञप्तिले सिर्जित घटनाबाट आफूहरु दुःखित भएको उल्लेख छ ।

“कसमस विश्वकर्माको नेतृत्वमा प्रकाशित ‘काठमाडौंँ प्रेस’को वेबसाइट ह्याक गरी समाचार सामग्री हटाउने कार्य निन्दनीय छ, दोषीविरुद्ध कानूनी कारबाही हुनुपर्नेमा हामी दृढ छौंँ”, विज्ञप्तिमा भनिएको छ,“ सत्य, तथ्य र सन्तुलित समाचार सम्प्रेषण गर्ने सञ्चारकर्मी र सञ्चारगृहलाई अभिभावकीय भूमिका निभाउनुपर्ने महासंघले कोरोना भाइरसबाट त्रसित जनताको मनोभावलाई समेत ओझेलमा पार्ने गरी पुष्टि नभएका व्यक्ति र विषय जोडेर निकालेको प्रेस विज्ञप्ति संस्थागत नभई व्यक्तिगत हो ।”

वर्तमान विषम परिस्थितिमा महासंघजस्तो साझा र भरोसायोग्य संस्थाको गौरवमय इतिहास बचाउन चाँडोभन्दा चाँडो सल्लाहकारसहितको केन्द्रीय समितिको बैठक बोलाई उठेका विषयमा गम्भीर बहस गर्नुपर्ने माग विज्ञप्तिमा गरिएको छ ।

यस्तो दुःखद् परिस्थितिमा समेत जोखिम मोलेर रिपोर्टिङ गर्ने पत्रकारलाई पारिश्रमिक नदिने सञ्चारगृहलाई झकझकाउनुपर्ने र दवावमूलक कार्यक्रमलाई थप निरन्तरता दिनुपर्ने, लोककल्याणकारी विज्ञापन बढाउनुपर्ने, समानुपातिक विज्ञापनलाई कार्यान्वयनमा लैजानुपर्ने जस्ता काम महासङ्घले गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै ‘पत्रपत्रिका तथा अनलाइनमाथि स्थानीय तहले लगाएको कर र प्रेस स्वतन्त्रता विरोधी कानूनमा सजग हुँदै पत्रकारका विषयमा बहस र छलफल गर्न देशव्यापी अभियान थाल्न पर्नुका साथै पत्रकारका क्षमता अभिवृद्धि गराउने जस्ता दायित्व बिर्सेर’ विवादित मोडमा जानु महासंघको स्वभावलाई सुहाउने विषय नभएको जनाइएको छ ।

“जुनसकै पक्षबाट भए पनि प्रेस स्वतन्त्रता विरोधी हर्कतको खुलेर विरोध मात्र होइन, त्यस्ता गतिविधि रोकी महासंघको गर्विलो इतिहास बचाउन हामी सधैँ अग्रमोर्चामा उभिने छौँ”, विज्ञप्तिमा भनिएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi