भक्तपुर, २० चैत (रासस)
मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालमा कोरोना परीक्षण शुरु गरिएको छ । नगरपालिकाले विश्व महामारीका रुपमा फैलिएको कोभिड–१९ को परीक्षण गर्ने ल्याब स्थापना गरेको दुई सातापछि आधिकारिकरुपमा आजबाट भक्तपुरमै पहिलो पटक कोरोना परीक्षण शुरु गरेको हो ।
यसअघि नमूना सङ्कलन गरी टेकु अस्पताल पठाउँदै आएकामा अब नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा नै कोरोना भाइरस परीक्षण गर्न शुरु भएपछि यो अस्पताल कोरोना भाइरस परीक्षण गर्ने जिल्लामै पहिलो अस्पताल बनेको हो । नगर प्रमुख मदनसुन्दर श्रेष्ठले अब कोरोना परीक्षणका लागि टेकु अस्पताल जानु नपर्ने उल्लेख गर्दै नगरपालिकाले सञ्चालनमा ल्याएको ल्याबबाटै परीक्षण गर्न सकिने बताउनुभयो ।
नगरपालिकाले विश्व महामारीका रुपमा फैलिएको कोभिड–१९ को परीक्षण गर्ने ल्याब, एम्बुलेन्स, आइसोलेसनदेखि क्यारेन्टाइनसम्म तयारी अवस्थामा राखेको छ । नगरपालिकाले सञ्चालित उक्त अस्पतालमा कोभिड–१९ को समेत परीक्षण गर्ने मेसिन भित्र्याउनुका साथै अन्य तयारी पूरा गरेर राखेको हो ।
नगरपालिकाले अस्पतालको अगाडि छुट्टै घर भाडामा लिएर पोलिमराइज चेन रिएक्सन ९पिसीआर० मेशिनसहितको ल्याब सञ्चालनमा ल्याएको छ । सो ल्याबमा मलेकुलर ल्याब र हिस्टो ल्याब पनि सञ्चालनमा ल्याइएको उहाँले जानकारी दिनुभयो । सो ल्याबमा विभिन्न रोग सार्स, डेङ्गु, स्वाइनप्mलूलगायत क्यान्सर एवं शरीरका विभिन्न अङ्गका ट्युमरकोसमेत परीक्षण गर्न सकिने भएको छ । ल्याब टेष्टका लागि विदेश पठाउँदा महङ्गो र रिपोर्ट आउन धेरै समय लाग्ने भएकाले यही परीक्षण गर्दा सरल एवं छिटो हुने दाबी गरिएको छ ।
यही ल्याबमा कोरोना परीक्षण गरी एक जना बिरामीलाई आइसोलेसनमा राखेको जानकारी दिँदै उहाँले अस्पतालले कोरोनाको उपचारका लागि चार भेन्टिलेटरसहितको सघन उपचार कक्ष र १६ आइसोलेसन वार्ड निर्माण गरेको नगरप्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “अस्पतालमा २६ डाक्टर र पाँच कन्सल्टेन्टसहितको स्वास्थ्यकर्मीको टोलीलाई आवासीय सुविधासहित २४सै घण्टा अलर्टमा राखेका छौँ, कोरोना परीक्षण अब यही अस्पतालबाट शुरु गरिसक्यौँ, छ श्ययाको आइसोलेसन वार्ड सञ्चालनमा ल्याइसकेका छौँ, आपत्कालीन अवस्थामा प्रयोग गर्ने गरी १० श्ययाको आइसोलेसन वार्ड तयारी अवस्थामा राखेका छौँ, उपचारका लागि हामी पूर्णरुपमा तयार छौँ ।”
आइसोलेसनमा भर्ना भएका एकको रिपोर्ट नेगेटिभ आए घर पठाइने भएको छ । यहाँको ल्याबमा पोजेटिभ रिपोर्ट आए, सो रिपोर्टलाई टेकु अस्पताल पठाइनेछ । नगरका विभिन्न क्षेत्रमा किटनाशक औषधि छर्किएको नगरपालिकाले विदेशबाट फर्किएका ३२ जनाको नमूना सङ्कलन गरी परीक्षण शुरु गरेको छ । नगरपालिकाले बोडेस्थित तालिम केन्द्रको भवनमा ५० जना क्षमताको क्वारेन्टाइन निर्माणको कार्य अगाडि बढाएको छ ।
राहत वितरण शुरु
सो नगरपालिकाले नगरभित्र रहेका दैनिक ज्यालादारी गरेर जीवन गुजारा गर्ने, गरिब, अतिविपन्न परिवारलाई आजदेखि राहत वितरण शुरु गरेको छ । नगरपालिकाको बोर्ड बैठकले पारित गरेको मापदण्डमा रहेका प्रत्येक वडाका वडाध्यक्ष संयोजक रहेका समितिले राहत वितरणदेखि खाद्यान्न आपूर्ति एवं वितरणको कार्य गरेको छ ।
नगरपालिकाले नगर विपद् कोषमा रु तीन करोड बजेट विनियोजन गरी प्रत्येक वडालाई रु पाँच लाखका दरले बजेट पठाई राहत वितरणलगायतका काम शुरु गरेको नगरप्रमुख श्रेष्ठले जानकारी दिनुभयो । नगरपालिकाले चार जनासम्मको परिवारलाई १० किलो चामल, एक किलो दाल, एक प्याकेट नून, आधा किलो दालमोठ, एक किलो चिउरा र एक लिटर तेल राहत वितरण शुरु गरेको छ । पाँचदेखि सात जनासम्मका परिवारलाई १५ किलो चामल, डेढ किलो दाल, दुई प्याकेट नून, एक किलो दालमोठ, डेढ किलो चिउरा र दुई लिटर तेल राहत वितरण शुरु गरेको छ ।