neapl investment mega bank

प्रजातन्त्र सेनानी रेग्मीको निधन

Mar 29th, 2020

वालिङ, १६ चैत (रासस)

प्रजातन्त्र सेनानी एवं स्याङ्जा बमकाण्डका रक्त हस्ताक्षरकर्ता सूर्यप्रसाद रेग्मीको आज अपराह्न निधन भएको छ । लामो समयदेखि रक्तचापबाट पीडित रेग्मीको ७८ वर्षका उमेरमा वालिङ २ स्थित आफ्नै निवासमा निधन भएको हो । विसं २०३१ को स्याङ्जा बमकाण्डका नायक तथा बीपी कोइरालाको प्रवासकालीन अनुयायी र निष्ठावान् लोकतान्त्रिक आन्दोलनका रुपमा स्थापित नेताको निधनले अपूरणीय क्षति पुगेको काँग्रेस स्याङ्जाका सभापति बुद्धिबहादुर रानाले बताउनुभयो ।

विसं २०२८ मा तत्कालीन पञ्चायती शासनका विरुद्धमा रगतले हस्ताक्षर गरी आन्दोलनमा लाग्ने टोलीमध्येका एक उहाँ पनि हुनुहुन्थ्यो । प्रजातान्त्रिक आन्दोलनका क्रममा उहाँले आठ वर्ष प्रवास र आठ वर्ष कारागारमा जीवन बिताउनुभएको नेपाली काँग्रेस स्याङ्जा क्षेत्र नं २ का सचिव दामोदर लम्सालले बताउनुभयो । रेग्मी केही महीनाअघि भएको राष्ट्रियसभाको निर्वाचनमा गण्डकी प्रदेशबाट उम्मेदवार भई पराजित हुनुभएको थियो ।

रेग्मीका श्रीमती र दुई छोरी हुनुहुन्छ । सोमबार रेग्मीको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलिपछि रामनदीधाम राम्दीमा दाहसंस्कार गरिने काँग्रेस स्याङ्जाका सभापति रानाले बताउनुभयो ।

aadharbhumi
aadharbhumi
aadharbhumi