neapl investment mega bank
  • गृहपृष्ठ
  • साझा अभियानमा एक भएर लागौँ : मुख्यमन्त्री शाही

साझा अभियानमा एक भएर लागौँ : मुख्यमन्त्री शाही

Mar 28th, 2020

सुर्खेत, १५ चैत (रासस)

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोना भाइरसविरुद्धको अभियानमा एक भएर लाग्न कर्णालीवासीलाई अपिल गर्नुभएको छ । शुक्रबार सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले महामारीका रुपमा फैलिएको कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारले रु ५० करोड विपद् व्यवस्थापन कोष खडा गरेको जानकारी दिनुभयो ।

मुख्यमन्त्री शाहीले भन्नुभयो, “कोरोनाको प्रतिकार्यका लागि कोषमा मलगायत मेरो मन्त्रिपरिषद्का सदस्यले एक महिनाको पारिश्रमिक जम्मा गरेका छौँ । जनप्रतिनिधि, राष्ट्रसेवक, उद्योगी/व्यवसायी एवं अन्य इच्छुक व्यक्ति तथा सङ्घसंस्थालाई उक्त कोष वृद्धिका लागि सहयोग गर्न आह्वान गर्छु ।”

सम्भावित जोखिमलाई रोकथाम गर्न थालेको प्रयासमा सहयोगका लागि सम्पूर्ण नागरिकमा अपिल गर्दै उहाँले छिमेकी मुलुक भारत र अन्य देशबाट आएकालाई १४ दिन अन्य मानिसको सम्पर्कबाट टाढा रही आफू र आफ्नो परिवार तथा समाज सङ्क्रमणबाट बचाई जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।

उहाँले यस्तो परिस्थितिमा कोहीकसैलाई नडराउन तर सचेतना अपनाउन सुझाउँदै आत्तिएर नभई धैर्यताका साथ आ–आफ्नो ठाउँबाट साथ दिन अनुरोध गर्नुभयो । मुख्यमन्त्री शाहीले अग्रपङ्क्तिममा खटिएर काम गर्ने चिकित्सक एवं स्वास्थ्यकर्मीलाई उच्च मनोबलका साथ काम गर्ने वातावरण निर्माणका लागि आम नागरिकलाई आग्रह गर्दै हेल्थ डेस्क, क्वारेन्टाइन र आइसोलेसनमा खटिने सुरक्षाकर्मीका लागि शुरु तलब स्केल बराबरको ५० प्रतिशत र स्वास्थ्यकर्मीका लागि शतप्रतिशत प्रोत्साहन भत्ता उपलब्ध गर्ने जनाउनुभयो ।

उहाँले ज्वरो आउने, सुक्खा खोकी लाग्ने, मांसपेशी दुख्ने, श्वास फेर्न गाह्रो हुने, थकाइ लागेमा नजिकको स्वास्थ्य संस्था वा हेल्थ डेस्कमा सम्पर्क गर्न अनुरोध गर्नुभयो । प्रदेश सरकारले कोरोनाबाट प्रभावितको उद्धारका लागि १११० नंको हटलाइन सेवा शुरु गरेकाले अप्ठ्यारो र समस्या पर्दा त्यसमा सम्पर्क गर्न सकिने जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi