काठमाडौँ, १४ चैत (रासस)
प्रधानमन्त्री केपी शर्मा ओली महाराजगञ्जस्थित मनमोहन कार्डियोभाष्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा आज आकस्मिक उपचार गराई स्वास्थ्य लाभ गरी निवास फर्कनुभएको छ ।
गए राति मुटुको धड्कन बढ्ने समस्याका कारण अस्पताल भर्ना हुनुभएका प्रधानमन्त्री ओलीले करिब २० घण्टा अस्पतालमा रहेर उपचार गराउनुभएको उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।
उहाँको २४ दिन अघि (गत फागुन २१ गते) शिक्षण अस्पतालमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । प्रधानमन्त्रीको उपचारमा संलग्न अस्पताल, चिकित्सकहरू, नर्सहरू र सबैमा उहाँको सचिवालयले धन्यवाद ज्ञापन गरेको छ ।