neapl investment mega bank
  • गृहपृष्ठ
  • बाग्लुङमा विदेशबाट आएका ४५ ‘होम क्वारेण्टाइनमा’

बाग्लुङमा विदेशबाट आएका ४५ ‘होम क्वारेण्टाइनमा’

Mar 27th, 2020

बलेवा, १४ चैत (रासस)

बाग्लुङ जिल्लाका विभिन्न स्थानीय तहमा वैदेशिक रोजगारीबाट फर्किएका ४५ जनालाई ‘होम क्वारेण्टाइन’मा पठाईएको छ । कोरोना भाइरस प्रभावित देशबाट घर फर्किएकाहरुलाई स्थानीय सरकार र जिल्लास्थित विपद् व्यवस्थापन समितिको पहलमा घरमै सुरक्षित बस्ने व्यवस्था मिलाइएको हो ।

विशेष गरेर भारत र खाडी मुलुक तथा मलेसियाबाट फर्किएकाहरुलाई सुरक्षित रहन र अन्य कसैको सम्पर्कभन्दा टाढा रहन आग्रह गरिएको स्वास्थ्य कार्यालय बाग्लुङका प्रमुख सुरज गुरौले जानकारी दिनुभयो । होम क्वारेनटाइनमा पठाइएकामध्ये निसीखोला गाउँपालिकामा चार, काठेखोला गाउँपालिकामा ३०, ताराखोला गाउँपालिकामा ११, बडिगाड गाउँपालिकामा एक र ढोरपाटन नगरपालिकामा तीन जना छन् । उनीहरुमध्ये बडिगाड गाउँपालिकाका एक जना भने वैदेशिक रोजगारीमा गएको नभई उच्च ज्वरो आएका कारण औषधोपचारसहित होम क्वारेन्टाइनमा राखिएको हो ।

कोरोनाको सङ्क्रमण भित्रिन नदिन जिल्लाका तीन स्थानमा स्थापना गरिएका हेल्थ डेस्कबाट ३११ जनाको ज्वरो परीक्षण गरिएको थियो । बुर्तिबाङ हेल्थ डेस्कमा परीक्षण गरिएका १८ मध्ये दुई जनामा ज्वरो देखा परे पनि अन्य कसैमा समस्या देखा नपरेको गुरौले बिहीबार साँझ जारी गरेको विज्ञप्तिमा उल्लेख छ । जिल्ला भित्रिने मुख्य नाका मालढुङ्गा हेल्थ डेस्कमा २८९ र बडिगाड गाउँपालिकाको खरबाङ बजारमा स्थापना भएको हेल्थ डेसकमा चार जनाले जाँच गराएका थिए । ज्वरो देखा परेका दुवैलाई आवश्यक परामर्श र औषधि सिफारिस गरिएको चिाकित्सकले जनाएका छन् ।

यसैबीच जिल्लामा रहेका सरोकार भएकाहरुको बैठकले प्रमुख जिल्ला अधिकारी संयोजक रहेको १३ सदस्यीय कमाण्ड पोष्ट गठन गरेको छ । गृह मन्त्रालय, शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाको निर्देशनमा प्रजिअ गौलोचन सैंजुको संयोजकत्वमा कमाण्ड पोष्ट गठन गरिएको जिल्ला प्रशासन कार्यालले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयबाट जिल्ला सवारी पासलाई समेत व्यवस्थित गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत धीरेन्द्र पन्तले बताउनुभयो । कोरोनाका बारेमा सत्यतथ्य पुष्टि भएको खबर मात्र सम्प्रेषण गर्न सञ्चारकर्मी र सञ्चारमाध्यमलाई अनुरोध गर्ने र गलत समाचार सम्पे्रषण गर्नेलाई कानूनबमोजिम कारवाही गर्ने बैठकले निर्णय गरेको पन्तले बताउनुभयो ।