neapl investment mega bank
  • गृहपृष्ठ
  • पूर्वमन्त्री बस्नेतको पहलमा मेडिकल सामग्री वितरण

पूर्वमन्त्री बस्नेतको पहलमा मेडिकल सामग्री वितरण

Mar 26th, 2020

मेलम्ची, १३ चैत (रासस)

सिन्धुपाल्चोकका दुई स्वास्थ्य केन्द्रलाई कोरोना परीक्षणमा प्रयोग हुने विभिन्न स्वास्थ्य सामग्री वितरण गरिएको छ । बुधबार नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतको पहलमा मेडिकल सामग्री वितरण गरिएको हो ।

नेता बस्नेतको पहलमा बाह्रविसे नगरपालिकाका प्राथमिक स्वास्थ्य केन्द्र बाह्रविसे र क्षमादेवी स्वास्थ्य चौकीमा स्यानिटाइजर, साबुन मास्क, पञ्जा, एप्रोनलगायतका सामग्री वितरण गरिएको छ । नेता बस्नेतले आफँैले उक्त सामग्री प्राथमिक स्वास्थ्य केन्द्र बाह्रविसेका चिकित्सक सिर्जना महर्जनलाई हस्तान्तरण गर्नुभएको थियो ।

स्वास्थ्य सामग्रीको अभावमा स्वास्थ्यकर्मीलाई काम गर्न असुविधा भएपछि सबैको सहयोगमा विभिन्न मेडिकल सामग्री वितरण गरिएको पूर्वसञ्चारमन्त्री बस्नेतले जानकारी दिनुभयो । उहाँले सकेको सहयोग गर्न सबैलाई आह्वानसमेत गर्नुभयो ।

१५० भन्दा बढी नियन्त्रणमा

सिन्धुपाल्चोकको विभिन्न स्थानमा नेपाल सरकारले कोरोना सङ्क्रमण न्यूनीकरण गर्नका निम्ति घोषणा गरेको लकडाउन अवज्ञा गर्ने १५० जनाभन्दा बढीलाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा परेकालाई लकडाउनको औचित्यको बारेमा ३० मिनेट अभिमुखीकरण कक्षा लिएर पठाउने गरेको र जबर्जस्ती गर्नेलाई सङ्क्रमण रोग ऐन २०२० अनुसार कारवाही चलाउने सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधव काफ्लेको भनाइ छ ।

मेलम्ची इलाका प्रहरी कार्यालयका प्रमुख फलबहादुर तामाङका अनुसार लकडाउन अवज्ञा गर्ने बजारवासीलाई नियन्त्रणमा लिएको जानकारी दिनुभयो । नागरिककै हितका निम्ति कोरोना भाइरस सङ्क्रमणबाट बचाउन गरिएको लकडाउन पूर्णरूपमा पालन गर्न अपिल गर्दै कडाइका साथ सीमाक्षेत्रमा प्रहरी परिचालन गर्ने प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको भनाइ छ ।