neapl investment mega bank
  • गृहपृष्ठ
  • अत्यावश्यक स्वास्थ्य सामग्री चीनबाट ल्याउने एनआरएनएको तयारी

अत्यावश्यक स्वास्थ्य सामग्री चीनबाट ल्याउने एनआरएनएको तयारी

Mar 25th, 2020

काठमाडौ, चैत १२

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कोरोना भाइरससंग लड्न नेपाल सरकारलाई स्वास्थ्य सामग्री उपलब्ध गराउने भएको छ । संघका अध्यक्ष कुमार पन्तका अनुसार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको आग्रहमा कोरनोना विरुद्ध जुध्न घोषणा गरेको रू १ करोड सहयोगबाट सरकारलाई उक्त स्वास्थ्य सामग्रीकारूपमा उपलब्ध गराउन लागिएको हो ।

स्वास्थ्यकर्मीले लगाउने विशेष प्रकारको सुरक्षा उपकरण र परीक्षण किट गैरआवासीय नेपाली संघले चीनस्थित नेपाली दूतावासमा उपलब्ध गराउने भएको संघले जनाएको छ । पन्तले स्वास्थ्य सामग्री नेपाल भित्राउन पहल गरिदिने मन्त्री ज्ञवाली र नेपाल सरकारलाई गैरआवासीय नेपाली समुदायका तर्फबाट हार्दिक धन्यवाद दिएका छन् । गैरआवासीय नेपाली संघका महासचिव डा. हेम राज शर्माका अनुसार उक्त सामान खरिद गर्न एक कार्यदल गठन गरिएको छ । बुधवार बिहान बसेको संघको पदाधिकारी बैठकले एनआरएनए चीनको प्रतिनिधी सहितको एक कार्यदल गठन गरेको हो ।

संघका उपाध्यक्ष डा. बद्री केसीका अनुसार चीनबाट उक्त सामग्री संकलन गर्न नेपाल सरकार समक्ष आग्रह गरेको छ । ती सामग्री चीनबाट ल्याउने बन्दोबस्त सरकारले गर्ने समझदारी बनेको केसीले जानकारी दिएका छन् । नेपाल सरकारले एक साता भित्र ती सामग्री संकलन गरेर नेपाल भित्राउने तयारी गरेको केसीले जनाए । यसअघि गैरआवासीय नेपाली संघले विश्वभर रहेका आफ्ना शाखामार्फत कोरोनापीडित नेपालीको तथ्यांक संकलन गर्ने समेत तयारी समेत गरेको छ ।
संघले कोषाध्यक्ष महेशकुमार श्रेष्ठको संयोजकत्वमा कोरोनापीडित राहत कोष संकलन समिति, उपाध्यक्ष बद्री केसीको संयोजकत्वमा भौतिक सामग्री सहयोग संकलन उपसमिति गठन गरेको थियो ।