neapl investment mega bank
  • गृहपृष्ठ
  • सिन्धुलीमा कोरोनाको आशङ्कामा एक जनालाई आइसोलेशनमा, १० जना होम क्वारेन्टाइनमा राखियो

सिन्धुलीमा कोरोनाको आशङ्कामा एक जनालाई आइसोलेशनमा, १० जना होम क्वारेन्टाइनमा राखियो

Mar 24th, 2020

सिन्धुली, ११ चैत (रासस)

सिन्धुली अस्पतालमा आज थप एक जनालाई कोरोनाको आशङ्कामा आइसोलेशन वार्डमा राखेर उपचार शुरु गरिएको छ । अरु १० जनालाई भने क्वारेन्टाइनमा राखिएको छ । भारतबाट नेपाल फर्केका कमलामाई नगरपालिका वडा नं २ का १९ वर्षीय एक युवकलाई आइसोलेशनमा भर्ना गरिएको हो । भारत सिलगुढीबाट सोमबार घरमा आएका उनलाई खोकी लागेपछि आइसोलेशनमा भर्ना गरिएको हो ।

उनलाई सिलगुढीमै ज्वरो आएको र सिन्धुली फर्केपछि खोकी लागेकाले सिन्धुली अस्पतालमा आएका थिए । उनको स्वास्थ्यवस्था सामान्य भएको अस्पतालका डा प्रसन्न राजभण्डारीले बताउनुभयो । उहाँका अनुसार युवकको स्वाब परीक्षणका लागि नमूना सङ्कलन गरी काठमाडौँस्थित टेकु अस्पताल पठाइएको छ ।

यस्तै भारतमा रोजगारीमा गएर फर्केका १० युवालाई आज होम क्वारेन्टाइनमा राखिएको छ । उनीहरु सिन्धुलीका स्थानीय बासिन्दाले घरमा बस्न नदिएपछि सिन्धुली अस्पतालमा स्वास्थ्य परीक्षणका लागि आएका थिए । उनीहरुले क्वारेन्टाइनमा बस्न रुचि देखाएपछि अस्पतालले होम क्वारेन्टाइनमा राख्न सिफारिस गरेको डा राजभण्डारीले बताउनुभयोे । अस्पतालमा गत बुधबार ज्वरो अत्यधिक आएपछि अस्पताल ल्याइएका कमलामाई नगरपालिका वडा नं ७ का ८१ वर्षीयलाई अस्पतालको आइसोलेशन वार्डमा उपचारका लागि भर्ना गरिएको अस्पतालले जनाएको छ । उहाँको केन्द्रीय प्रयोगशालामा गरिएको परीक्षणमा इन्फ्लुएञ्जा ए पोजेटिभ र कोभिड–१९ नेगेटिभ देखिएको थियो ।