neapl investment mega bank
  • गृहपृष्ठ
  • खानेपानी आयोजना समयमै सम्पन्न गर्न उपभोक्ताको माग

खानेपानी आयोजना समयमै सम्पन्न गर्न उपभोक्ताको माग

Mar 21st, 2020

आधारभुमि संवाददाता
लालितपुर, ८ चैत


खानेपानी तथा सरसफाई डिभिजन नं ५ भक्तपुर, चाङ्गाथली खानेपानी सरसफाई आयोजनाले १ दिने खानेपानी गुणस्तर सुधार सम्बन्धी उपभोक्ता समितिको तालिम सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथि खानेपानी डिभिजन नं ५ का इन्जिनियर हरिदत्त पौडेल, सभापतीमा चाङ्गाथली खानेपानी सरसफाई आयोजना अध्यक्ष बाबुराजा महर्जन, अतिथिमा पानी विज्ञ भोला पौडेल र सुप्रिम एसोसिएट्स्का बिराज आर्चाय र खानेपानी उपभोक्ता समितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।

चाङ्गाथलीका उपभोक्ताहरुले खानेपानीको विषयमा चासो देखाएकोमा आफू खुसी भएको योजनाका प्रविधिक रामेश्वर श्रेष्ठले बताए । “यो क्षेत्रमा काम गरेको १८/१९ वर्ष भयो”, श्रेष्ठले भने, “तर यहाँका जनताले जसरी चासो देखाए मलाई निकै खुसी लागेको छ ।”

विश्व स्वास्थ्य संगठन २०६२ को मापदण्डभन्दा चाङ्गाथली खानेपानी आयोजनामा आइरन र पानीको धमिलोपन बढी भएको सुप्रिम एसोसिएट्स्का बिराज आर्चायले बताए । उनले भने, “जाँचमा एमोनिया र आर्सेनिक भने मापदण्ड अनुसार छ तर पानीमा आइरन र धमिलोपन भने बढी देखिएको छ । यसले गर्दा पानी वितरणमा ढिलाई भएको छ ।”

यस्तै पानी विज्ञ भोला पौडडेलले पनि पानीमा धमिलोपन बढी भएकाले वितरणमा ढिलाई भएको जिकिरी गरे । “अरु कुरामा हामीले विश्व स्वास्थ्य संगठनको मापदण्ड पुर्याएका छौँ तर पानीमा आइरन र धमीलोपनले अलि समस्या गराएको छ र यसको समाधानको लागि हामी निरन्तर रुपमा लागि परेका छौँ । खानेपानीको यो नमुना परियोजना भएकाले यसलाई एक उत्कृष्ट र सफल नमुना बनाएर लग्ने तर्फ हामी लागि परेका छौँ ।” पानीमा भएको कलर कम गर्न आरओ फिल्टर र रेजिन फिल्टर प्रयोग गर्न सकिने तर यी दुबै प्राविधिक प्रक्रिया महंगो पर्ने विज्ञ पौडेले जानकारी दिए ।
धारामा पानी धमिलो र छोक्रा आउने गरेको उपभोक्ताले गुनासो गर्ने गरेका छन् । अहिले पानी परिक्षणको क्रममा रहेकाले अहिले पानी सिधै पिउन योग्य नरहेको र पानीको पाइपहरुमा फोहर जमेको हुन सक्ने र त्यही फोहर छोक्रा भएर बाहिर निस्केको हुन सक्ने सुप्रिम एसोसिएट्स्का आर्चायले बताए ।

चाङ्गाथली र भैसेपाटीमा सरकारको यो नमुना परियोजना भएको खानेपानी डिभिजन नं ५ का इन्जिनियर हरिदत्त पौडेलले बताए । “यो योजना राम्रो बनाउन सरकारले आफ्नो स्तरबाट प्रयास गरिरहेको र जनताबाट पनि सहयोग जरुरी रहेको छ”, पौडेलले भने, “यो एक नमुना परियोजना हो र यो योजना सफल भएमा एक उदाहरण बन्ने छ र आगामि दिनमा अरु ठाउँमा पनि यसलाई लागू गर्न सकिने छ ।”

चाङ्गाथलीको भन्दा भैसेपाटीमा पानीको गुणस्तर राम्रो छ र यहाँ पनि गुणस्तर सुधारोन्मुख अवस्थामा रहेको छ । पानीलाई गुणस्तरिय बनाउन हामी पटक पटक परिक्षण गरिरहेका छौँ । यसका लागि यहाँ थप एक फिल्टर चेम्बर राख्ने पर्ने उनले बताए । थप चेम्बर राख्ने कुराको शुल्कको कुरामा पौडेलले भने, “लागत खर्च सरकारले बेर्होछ तर पछि संचालन खर्च भने उपभोक्ताले सहयोग गर्नुपर्ने हुन्छ ।”

शुल्ककै कुरा गर्दा चाङ्गाथली खानेपानी सरसफाई आयोजना अध्यक्ष बाबुराजा महर्जनले अरु समितिको तुलनामा आफ्नो समितिको शुल्क सस्तो रहेको बताए । “हामीले जम्मा २ सय रुपैयाँ निर्धारण गरेका छौँ”, “उनले भने, तर पनि महंगो भयो भनेर उपभोक्ताहरुको गुनासो छ । उपभोक्ताबाट उठेको रकम बिजुली, उपकरण मर्मत र कर्मचारीको तलबको लागि पनि पुग्दैन । महिनामा करिब ५० हजार रुपैयाँ घाटा छ । तै पनि हामीले पानी उपलब्ध गराइरहेका छौँ ।”

प्रविधिक कारणले गर्दा पानी वितरणमा ढिदाई भएको महर्जनले बताए । उनले भने, “हामी सके सम्म चाडो पानी वितरण गर्ने प्रयास गरिरहेका छौँ । एक त जनमानसमा गलत प्रचार प्रसार गरिएकाले पनि उपभोक्ताहरु निरास भएका छन् ।” यसरी गलत र भ्रामक कुराको पछि नलागि सत्य कुराको जानकारी लिएर मात्र अघि बढ्न महर्जनले सुझाए । आगामी आर्थिक वर्ष भित्रै उपभोक्ताहश्रलाई पानी पुर्याउने लक्ष्य रहेको महर्जनले बताए ।

यो एक नमुना परियोजना भएका कारण सरकार र उपभोक्ताले एक अर्काको परिपुरक भएर अघि बढ्नु पर्ने र गुणस्तरिय पानीका लागि केही थप शुल्कको लोभ उपभोक्ताले नगरे सबैलाई सहज हुने खानेपानी डिभिजन नं ५ का इन्जिनियर पौडेलले बताए । बैठकमा उपस्थित उपभोक्ताहरुले समयमै खानेपानी उपल्बध भएमा आफूहरुलाई खुसी हुने बताए र पानी वितरण छिटोभन्दा छिटो होस् भनी समिति समक्ष उपभोक्ताले माग गरे ।