आधारभूमी संवाददाता
काठमाडौं, ५ चैत
सरकारले कोरोना भाइरस संक्रमण फैलन नदिन विभिन्न क्षेत्रमा विशेष सतर्कता अपनाएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिले कोरोना फैलिन नदिन सिनेमा हल बन्द गर्ने देखि एउटा स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाउने सम्मका निर्णय गरेको छ ।
समितिको आज बसेको बैठकले सांस्कृतिक केन्द्र, रङ्गशाला, डान्स क्लब बन्द गर्ने निर्णय गरेको छ । त्यस्तै सरकारले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी मानिस भेला हुन नपाइने निर्णय गरेको छ। उच्चस्तरीय समितिले उक्त निर्णय आगामी वैशाख १८ गतेसम्म लागु हुने जनाएको छ ।
यो निर्णय लागू भएसंगै अब पार्टिप्यालेस, सांस्कृतिक कार्यक्रम, मठमन्दिर लगायत धार्मिक कार्यहरूमा २५ जना भन्दा बढी व्यक्ति एकैठाउँ बस्न नपाइने भएको छ। हेल्थ कल्ब, संग्रहालय र स्विमिङ पुलहरू समेत २० अप्रिल सम्म बन्द गर्ने निर्णय गरिएको छ।
कोरोना संक्रमित देशबाट आउन प्रतिबन्ध
सरकारले कोरोना भइरस (कोभिड१९) को संक्रमण देखिएका पश्चिम एसिया लगायत खाडी क्षेत्रका मुलुकहरू इरान, टर्की, मलेसिया, जापान, दक्षिण कोरिया र यूरोपका सबै मुलुकबाट आउने यात्रुलाई समेत रोक लगाएको छ ।
उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले युरोपका सबै मुलुक, पश्चिम एसिया लगायत खाडी क्षेत्रका मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानबाट आउने र ती मुलुकलाई ट्रान्जिट बनाएर आउने सबै मुलुकका यात्रुलाई नेपाल आउन रोक लगाएको हो ।
यो प्रतिबन्ध २० मार्च अर्थात शुक्रबारबाट लागू हुनेछ र १५ अप्रिलसम्म कायम रहने जनाइएको छ। यो प्रतिबन्धले ५५ देशबाट नेपाल आउन रोकिने र आवस्यक परे लकडाउन पनि घोषणा गर्न सकिने उपप्रधान तथा रक्षामन्त्री एवं समितिका संयोजक ईश्वर पारेखलले वताए ।
साथै ती मुलुकलाई ट्रान्जिट बनाई अन्य जुनसुकै मुलुकबाट आउने सबै यात्रुलाई २० मार्च रातिबाट लागुहुने गरी १५ अप्रिलसम्म मुलुक प्रवेशमा रोक लगाइएको छ।
विद्यालय र कलेज चैत्र सम्म बन्द
कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिले बाल विकास केन्द्र तथा आधारभूत विद्यालय पनि बन्द गर्ने निर्णय गरिएको छ । साथै भोलिदेखि हुने एसईई परीक्षा भने हेल्थ डेस्क स्थापना गरेर सुरक्षित एवं व्यवस्थित रुपमा सम्पन्न गर्ने निर्णय पनि सरकारले गरेको छ ।