neapl investment mega bank

तीन दिनसम्म अन्धकार बन्दै कालीकोट

Mar 18th, 2020

मान्म, ५ चैत (रासस)

जिल्लाको एकमात्र लघुजलविद्युत् आयोजना तीन दिनसम्म बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण कालीकोटले एक सूचना प्रकाशन गरी तीन दिनसम्म विद्युत् बन्द हुने जानकारी दिएको छ । पटक–पटक विद्युत् पावर हाउसमा आउने समस्याले जिल्लावासी अन्धकारमा बस्नु परेको छ । बत्तीस वर्षअगाडि सञ्चालनमा आएको उक्त आयोजनाले कालीकोटका रास्कोट नगरपालिका, सान्नीत्रिवेणी गाउँपालिका र खाँडाचक्र नगरपालिकाका करीब दुई हजार ६०० सेवाग्राहीलाई सेवा दिँदै आएको छ ।

नेपाल विद्युत् प्राधिकरण कालीकोटका प्रमुख मेगराज जोशीका अनुसार पोतमारा लघुजलविद्युत् आयोजनाको क्षमता ५०० किलोवाट रहे तापनि हाल मेशिनमा देखिएको खराबीका कारण १८० किलोवाट क्षमताको भोल्टेज सेवाग्राहीको प्रयोगमा रहेको बताउनुभयो । “प्यानलमा देखिएको समस्याका कारण तीन दिनसम्म बत्ती नआउने भएको हा”, उहाँले भन्नुभयो, “बत्ती नहुँदा जिल्लास्थित उद्योगी, व्यापारी, सञ्चारमाध्यमलगायत विद्युतीय उपकरणमा ठूलो समस्या देखिने गरेको छ ।”

बत्ती आउने–जाने कारणले विद्युतीय उपकरणहरू पड्किने बिग्रनेलगायत थुप्रै समस्याले सेवाग्राही हैरान भएका छन् । विद्युत् लाइन आउने निश्चित समय तालिका लागू गर्नुपर्ने यहाँका नागरिकको गुनासो छ । प्रदेशसभा सदस्य कुर्मराज शाहीले राष्ट्रिय प्रसारण लाइन नआएसम्म कालीकोटका नागरिकले सोचेबमोजिम विद्युततीय पावर प्रयोग गर्न नसक्ने बताउनुभयो । राष्ट्रिय प्रसारण लाइनका लागि लाइन तान्ने काम लगभग सकिनै लागेको र अबको केही महिनामै राष्ट्रिय प्रसारण लाइन कालीकोटवासीले बाल्न पाउने उहाँको भनाइ थियो ।