neapl investment mega bank
  • गृहपृष्ठ
  • मास्क कालोवजारी गर्ने मानिसहरु सामान सहित पक्राउ

मास्क कालोवजारी गर्ने मानिसहरु सामान सहित पक्राउ

Mar 16th, 2020

काठमाडौ, चैत ३

मास्क कालोबजारी गर्ने व्यक्तिहरु सामान सहित पक्राउ परेकाछन । महानगरीय प्रहरी परिसर टेकुुका अनुसार कालोबजारी गरेको अभियोगमा उपत्यकाबाट पाँच जना व्यक्तिहरु सामान सहित पक्राउ परेका हुन ।

विश्वव्यापी माहामारीको रुपमा फैलिरहेको कोरोना भाईरसको प्रकोपबाट जोगिन मास्क र स्यानिटाइजरको प्रयोग गर्न आम सर्वसाधारणलाई प्रशासनबाट अनुरोध भईरहेको समयमा बजारमा दैनिक उपभोग्य तथा औषधी जन्य सामानहरुको कृतिम अभाव खडा गरी कालो बजारी हुन सक्ने अवस्थालाई मध्यनजर गरेर महानगरीय प्रहरी परिसर, काठमाडौंबाट विभिन्न स्थानमा प्रहरी तथा सूचना कर्ताहरुबाट सूचना लिने तथा प्रचलित कानून बमोजिम कारबाही प्रक्रिया अगाडि बढाईरहेको अवस्थामा केही व्यक्तिहरुले तीन रुपैयाँ २५ पैसा पर्ने मास्कलाई ३१ रुपैयाँमा बिक्री बितरण गर्न लागिरहेको सुचना आएको थियो ।

सोही सुचनाका आधारमा काठमाडौं परिसरबाट खटिएको विशेष टोलीले काठमाडौं कपन स्थित मिलन चोकबाट पाँच जना मानिस तथा एक लाख ६८ हजार थान मास्क, सो बेच्न प्रयोग भएको सवारी साधन समेत नियन्त्रणमा लिइ सोधपुछको क्रममा निजहरुले काठमाडौं च.न.पा.१० विष्णुमति पुल स्थित रोहित श्रेष्ठको घर भाडामा लिई आरडिजी इन्टरनेशनल नामक कम्पनीको नाममा गोदाम सञ्चालन गरेको र सो गोदाम मिति २०७६।१२।०२ गते सिलगरी जिल्ला प्रशासन कार्यालयको प्रतिनिधि, स्थानिय निकायको प्रतिनिधि र प्रहरीको उपस्थितिमा मिति २०७६।१२।०३ गते विहान आठ वजे खानतलासी गर्दा लुकाइ छिपाइ राखेको आठ लाख ४० हजार थान मास्क समेत वरामत गरी आवश्यक प्रक्रिया पुरा गरी काठमाडौं परिसरमा राखिएको प्रहरीले जनाएको छ ।

पक्राउ गरिएका मानिस तथा जफत सामानहरु कालो बजारी तथा सामाजिक हित बिरुद्धको अपराध ऐन २०३२ अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान अगाडि वढाईएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ पर्ने व्यक्तिहरुमा ओखलढुङ्गा, खिजादेबी गा.पा.वडा नं.१ घर भई ललितपुर ईमाडोल बस्ने वर्ष ३० को टेकराम श्रेष्ठ, बारा, गढीमाई उपमहानगरपालिका वडा नं.२ घर भई हाल कपन बस्ने वर्ष ३४ को संजय रेग्मी, चितवन, टाँडी न.पा.वडा नं.१ घर भई हाल स्वयम्भु बस्ने वर्ष २६ को अजिम बक्स मिया, आरडिजी इन्टरनेशन सप्लार्यसका सञ्चालक वर्ष २४ को का.म.पा.२३ बस्ने सुरज गोयल र सञ्चालक भारत राजस्थान घर भई काठमाडौं बाजबजार बस्ने वर्ष ३७ को सुबास महेश्वरी रहेकाछन । प्रहरीका अनुुसार पक्राउ परेका व्यक्तिहरुको साथबाट बा.७ च. ७२६३ नं.को गाडी र १० लाख ८ हजार थान मास्क बरामद गरिएको छ ।