गाईघाट, २९ फागुन (रासस)
जिल्ला प्रहरी कार्यालय उदयपुरले गोप्य सूचनाका आधारमा भूमीगत नेत्रविक्रम चन्द समूहका उदयपुर जिल्ला इञ्चार्ज तथा सेक्रेटरीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा गढी गाउँपालिका–४ अँधेरी बस्ने वर्ष ४४ का जीतबहादुर पुलामी मगर रहेका छन् ।
पुलामी मगर स्थानीय चित्रबहादुर मगरको घरमा लुकीछिपी बसिरहेको गोप्य सूचनाका आधारमा प्रहरीको टोलीले सम्बन्धित स्थानमा गएर आज उनलाई पक्राउ गरेको उदयपुरका प्रहरी प्रमुख वीरबहादुर बुढामगरले बताउनुभयो । पक्राउ परेका मगरलाई जिल्ला प्रहरी कार्यालयमा राखेर उनीमाथि अनुसन्धान शुरु गरिएको छ । सेक्रेटरी मगरको साथबाट तीन थान मोबाइल र केही महत्वपूर्ण कागजात प्रहरीले बरामद गरेको प्रहरीले उल्लेख गरेको छ ।