neapl investment mega bank
  • गृहपृष्ठ
  • तीब्र रुपमा फैलँदै कोरोना : रोकथामको लागि पुगेको छ त सरकारको तयारी ?

तीब्र रुपमा फैलँदै कोरोना : रोकथामको लागि पुगेको छ त सरकारको तयारी ?

Mar 12th, 2020

आधारभूमी संवाददाता
काठमाडौं, २९ फागुन

चीनको वुहानबाट फैलिएको कोरोना भाइरस (कोभिड १९) को असर विश्वव्यापी देखिन थालेपछि नेपालमा पनि यसको त्रास बढ्न थालेको छ ।

अहिले सम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ लाख २६ हजार पुगेको छ । यस महामारीले मृत्यु खुनेको संख्या ४ हजार ६ सय ३७ पुगेको छ । त्यसैगरी उपचारपछि ६८ हजार निको भएर घर फर्किसकेका छन् ।

डिसेम्बर अन्तिम सातादेखि चीनबाट देखिन थालेको कोरोना भाइरसले चीनमा अहिलेसम्म ८० हजार ७ सय ९३ जना संक्रमित भएका थिए भने ३ हजार १ सय ६९ जनाले ज्यान गुमाएका छन् ।

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस (कोभिड१९) लाई विश्वव्यापी महामारी घोषणा गरेको छ। तीन महिनाअघि सुरू भएको यो नयाँ कोरोना भाइरसबाट संसारभर हजारौं संक्रमित भएपछि बुधबार संगठनले महामारी घोषणा गरेको हो।

कोरोना भाइरसको उद्गम देश चीनबाहिर मात्र ३२ हजार ७ सय ७८ जना संक्रमित पाइएका छन्। कम्तिमा १०९ देशमा कोरोना भाइरस पुगेको छ।

नेपालमा हालसम्म यो भाइरस देखिएको छैन । तर यतिवेला आम नेपालीहरुको कोरोना भाइरसले त्रसित छन् । विहीवार बसेको प्रतिनिधी सभाको बैठकमा सांसदहरुले कोराना भाइरस नेपाल भित्रन नदिन विशेष सतर्कता अपनाउन आग्रह गरेका छन् ।

सांसदहरुले कोरोना भाइरस ९कोभिड–१९ को सम्भावित सङ्क्रमण रोक्न भीडभाड हुने स्थल र संस्थामा तत्काल आवश्यक तयारी गनुपर्ने सुझव दिएका छन् ।

प्रतिनिधिसभाको शून्य समयमा सांसदहरुले तत्काल शैक्षिक संस्था बन्द गर्न समेत सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसद भीमसेनदास प्रधान र रेणुकुमारी यादवले कोरोना भाइरसको जोखिम रोक्न तत्काल भीडभाड हुने स्थलमा आवश्यक तयारी गर्न र शैक्षिक संस्था तत्कालका लागि बन्द गर्न माग गरे ।

सांसद रामबहादुर विष्टले कोरोना भाइरसको सम्भावित महामारीलाई लिएर बजारमा अत्यावश्यक सामग्रीको अभाव हुँदै गएको भन्दै यसको नियन्त्रण गर्न के कति प्रगति भइरहेको छ भनी जानकारी माग गरेका छन् ।

के छ सरकारको तयारी ?

विश्व स्वास्थ्य संगठनले नेपालसहित पाँच देश कोरोनाको उच्च जोखिममा रहेको भनेका कारण आम जनता चिन्तीत देखिन थालेका छन् ।

विश्वव्यापी रुपमा फैलिएको नोभल कोरोनाभाइरस ९कोभिड –१९० रोकथाम तथा नियन्त्रणका लागि सरकारले विशषगरी चारवटा रणनीति अख्तियार गर्ने भएको छ ।

नोभल कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक उपप्रधान तथा रक्षामन्त्रीको अगुवाईमा बुधबार बसेको सर्वदलीय बैठकमा सरकारले यस्तो रणनीति अख्तियार गरेको जनाएको हो ।

बैठकमा सरकारले यस्ता चार रणनीति रहेको अन्य दलका नेतालाई अवगत गराएको थियो ।

१. सरकारले आम नागरिकहरुलाई विश्वसनीय ढंगबाट स्वास्थय सेवा प्रवाह गर्ने ।

२.संक्रमणलाई प्रवेश हुनै नदिने व्यवस्था मिलाउने ।

३. नागरिकहरुमा सचेतना अभिवृद्धि गर्ने, निगरानी र क्वारेन्टाईनको स्थितिलाई अझै सुदृढ बनाउने ।

४. विरामीको उपचार तथा व्यवस्थापनलाई प्रभावकारी तुल्याउने ।

सरकारले अघि सारेको यस्ता रणनीति र कार्यक्रममा सहमती जनाउदै सरकारलाई पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

सरकारले बैठकमा आएका सुझावहरुको आधारमा कार्ययोजनालाई परिमार्जन प्रभावकारी कार्यन्वयन गर्ने प्रतिबद्धता जनाएको छ ।

त्यसक्रममा समिति संयोजक समेत रहेका सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकभित्र आपतविपतको समयमा सबै राजनीतिक दल एवम् सरोकार पक्षहरुले एकताबद्ध भएर उच्च मनोबलका साथ काम गर्न र राष्ट्रिय एकता प्रदर्शन गर्ने नेपाली संस्कृति र परम्परालाई कायम राख्दै अघि बढ्न सवै पक्षलाई आव्हान गरेका छन् ।

साथै बैठकले आम नागरिकलाई सम्भावित संक्रमणको जोखिमको अवस्थामा स्वास्थ्यप्रति सचेत आग्रह गर्दै सरकारले जारी गर्ने स्रूचनामा सजग रहन जनतालाई अपिल गरेको छ ।

पूर्व साबधानीः

सरकारले कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन मुलुकमा थप सावधानी अपनाउन थालेको छ । मास्क, औषधिलगायत अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्था मिलाउँदै स्वास्थ्य परीक्षण र सामाजिक सचेतनालाई प्रभावकारी बनाउने सरकारले निर्णय गरेको छ ।

उपप्रधानमन्त्री पोखरेलले विदेशबाट आउने व्यक्तिको स्वास्थ्य जाँचलाई थप व्यवस्थित बनाउँदै आन्तरिकरुपमा पनि स्वास्थ्य जाँच र सचेतनालाई प्रभावकारी बनाउने निर्णय गरेको जानकारी दिए ।

सरकारले यसअघि नै धेरै संख्यामा उपस्थित भएर गरिने कार्यक्रम नगर्न भनिसकेको छ । विद्यालयमा विशेष ध्यान दिँदै स्वास्थ्य परीक्षणमा थप प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको छ ।