वासिङ्टन, २९ फागुन (राससरएपी)
डेमोक्रेटिक पार्टीका तर्फबाट भावी अमेरिकी राष्ट्रपतिका लागि उम्मेदवार छान्न भइरहेको चुनावमा अमेरिकी पूर्व उपराष्ट्रपति जो बाइडेन चारवटा राज्यमा विजयी हुनु भएको छ । डेमोक्रेटिक पार्टीबाट चुनिने व्यक्तिले आगामी नोभेम्बरमा हुने राष्ट्रपतिको चुनावमा प्रतिस्पर्धा गर्न पाउने छन् ।
पार्टीको यस प्राइमरी चुनावमा बाइडेन धेरै प्रतिनिधि चुनिने मिसिगन समेत मिजौरी, मिसिसिपी र इडाहोमा विजयी हुनु भएको छ । उहाँका प्रतिस्पर्धी बर्नी स्यान्डर्सलाई पछिल्लो चुनावी नतिजाले ठूलो धक्का लागेको विश्लेषण गरिएको छ ।
बाइडेनलाई कामकाजी मतदाता र अफ्रिकन अमेरिकन समुदायको ठूलो समर्थन रहेको छ । अमेरिकी चुनावमा यी दुई पक्षको समर्थन चुनावी नतिजा आफ्नो पक्षमा पार्न निकै महत्वपूर्ण रहने गरेको छ ।
उता सिनेटर स्यान्डर्सले भने नर्थ डकोटा र वासिङ्टन स्टेटमा जित दर्ता गर्नु भएको छ ।
फिलाडेल्फियामा समर्थकहरुलाई सम्बोधन गर्दै बाइडेनले शुरुआती चुनावी दौडमा कमजोर नतिजा ल्याएपछि धेरै व्यक्तिले निराशा व्यक्त गरेको भएपनि अहिले परिस्थिति फेरिएको र आफू चुनावी प्रतिस्पर्धामा रहेको बताउनुभयो । उहाँले स्यान्डर्सका समर्थकहरुलाई पनि आफूलाई मतदान गर्न आग्रह गर्नुभयो ।
“मलाई तपाईंहरुको सहयोग चाहिएको छ, र तपाईं हरेकको योगदान मेरो चुनावी अभियानमा जरुरी छ । म बर्नी स्यान्डर्स र उहाँका समर्थकहरुलाई अविश्रान्त मिहिनेतका लागि धन्यवाद दिन चाहन्छु । हामी सबैको साझा लक्ष्य छ, त्यो भनेको हामी सबै मिलेर डोनाल्ड ट्रम्पलाई परास्त गर्नु हो ।”
एपीको चुनावी विश्लेषण अनुसार हालसम्म जो बाइडेनले ८२३ र बर्नी स्यान्डर्सले ६६३ जना मत–प्रतिनिधि जित्नु भएको छ । राष्ट्रपतिमा मनोनयन हुन बाइडेनलाई अझै ११६८ र स्यान्डर्सलाई १३२८ मत आवश्यक छ ।