neapl investment mega bank
  • गृहपृष्ठ
  • छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु

Mar 11th, 2020

काठमाडौं, २८ फागुन

कैलाली, नवलपरासी(पश्चिम), नवलपरासी(पूर्व) र झापाका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ ।

कैलाली, घोडाघोडी नगरपालिका-५ स्थित सडकमा से.१ च १०३४ नम्बरको जिपबाट खसेर अछाम रामारोशन गाउँपालिका-७ बस्ने २६ वर्षीय एकेन्द्र बटालाको मंगलबार दिउँसो मृत्यु भएको छ । जिपबाट खसेर गम्भीर घाइते भएका उनको घोडाघोडी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नवलपरासी(पश्चिम), प्रतापपुर गाउँपालिका-७ झुलनीपुरस्थित सडकमा यूपी ५६ वाई ८०६३ भारतीय नम्बरप्लेटको मोटरसाइकल अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार प्रतापपुर गाउँपालिका-९ बेलाटारी बस्ने २५ वर्षीय लक्ष्मण हरिजनको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी सिटी अस्पताल वुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।

नवलपरासी(पूर्व), गैंडाकोट नगरपालिका-५ स्थित सडकमा ना.३ च २२६१ नम्बरको बोलेरोको ठक्करबाट गोर्खा पालुङटार नगरपालिका-१० बस्ने ३५ वर्षीय ज्ञान बहादुर कुँवरको बुधबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । फरार बोलेरो चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यसैगरी नवलपरासी(पूर्व), बुलिङटार गाउँपालिका-१ तरङखोलास्थित सडकमा आर्थिक निर्माण सेवाको प्रदेश नम्बर ३/०३००१ नम्बरको बोलेरो जिप ब्रेक फेल भई सडकबाट करिब १ सय ५० मिटर तल तरङगा खोलामा खसेर दुर्घटना हुँदा खसी दुर्घटना हुँदा दाङका ५३ वर्षीय बिमल चन्द्र सुबेदीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य चार जनाको सोही मेडिकल कलेजमा उपचार भइरहेको छ ।

झापा, दमक नगरपालिका-५ हरिओम कोलेनी छेउस्थित सडकमा मे.१ ह ६५४४ नम्बरको अटो अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा अटोमा सवार दमक नगरपालिका-९ बस्ने ६१ वर्षीय उम बहादुर मगरको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका उनको लाईफ लाईन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।