neapl investment mega bank
  • गृहपृष्ठ
  • पोखरा विमानस्थलका ७१ चिनियाँ कामदार सेल्फ क्वारेन्टाइनमा

पोखरा विमानस्थलका ७१ चिनियाँ कामदार सेल्फ क्वारेन्टाइनमा

Mar 11th, 2020

चिप्लेढुङ्गा, २८ फागुन (रासस)

निर्माणाधीन पोखराको क्षेत्रीय विमानस्थलमा कार्यरत ७१ चिनियाँ कामदारलाई सेल्फ क्वारेन्टाइनमा राखिएको छ । विमानस्थलमा हाल १९० चिनियाँ कामदार कार्यरत छन् ।

क्वारेन्टाइनमा राखिएका ७१ कामदार केही पुराना र केही नयाँ कामदार रहेको विमानस्थल प्रमुख विनेश मुनाकर्मीले जानकारी दिनुभयो । कोरोना सङ्क्रमण देखिएपछि स्वास्थ्य सतर्कतालाई विशेष ध्यान दिएको र स्वयं कामदार पनि स्वास्थ्यप्रति सचेत रहेकाले नेपाल आएपछि पनि थप १० दिन सेल्फ क्वारेन्टाइन बस्ने गरेको उहाँले जानकारी दिनुभयो ।

प्रमुख मुनाकर्मीले भन्नुभयो, “चीनबाट आउनुभएका नयाँ पुराना कामदार त्यहाँ पनि १४ दिन क्वारेन्टाइनमा बसेर र हेल्थ सर्टिफिकेट लिएर आउनुभएको छ । नेपाल आएपछि पनि सेल्फ क्वारेन्टाइनमा बसेर काममा फर्कनुहुन्छ ।” यसअघि पनि ३६ चिनियाँ कामदार सेल्फ क्वारेन्टाइनमा बसेर काममा फर्किएको र अहिले ७१ पनि त्यसरीनै सेल्फ क्वारेन्टाइनपछि काममा फर्केने उहाँको भनाइ छ । उनीहरु यही फागुन २१, २२, २३ गते चीनबाट नेपाल आएका थिए ।

सन् २०२१ जुलाईमा सम्पन्न गर्ने लक्ष्य राखिएको उक्त विमानस्थलको हाल ५५ प्रतिशत काम सम्पन्न भएको प्रमुख मुनाकर्मीले जानकारी दिनुभयो । सम्पन्न मितिको छ महिनाअगावै ९५ प्रतिशत मुख्य काम सकिने उहाँले जानकारी दिनुभयो । हाल निर्माणाधीन विमानस्थलमा क्वारेन्टाइनमा राखिएकाबाहेक १९० चिनियाँ र २८० नेपाली कार्यरत छन् । हाल देखिएको कोरोना सङ्क्रमणका कारण एक महिना राम्रोसँग काम हुन नसकेको उहाँको भनाइ छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले चिनियाँ कामदारको अवस्था सामान्य रहेको र थप सतर्कताका लागि मात्र १० दिन क्वारेन्टाइनमा राख्ने गरेको जानकारी दिनुभयो । हाल कोरोना भाइरस र पूर्वरोकथामको लागि १० विषयगत समिति बनाएर कार्य विवरणसहित परिचालन गरिएको डा शर्माले बताउनुभयो ।

यस क्षेत्रका चार अस्पताल जिपी कोइराला स्वासप्रस्वास उपचार केन्द्रमा २०, चरक मेमोरियलमा ३०, गण्डकी अस्पतालमा १५ र मनिपालमा १५ गरी कूल ८० आइसोलेसन बेड तयारी अवस्थामा रहेको जानकारी उहाँले दिनुभयो । पोखरा विमानस्थल र मुस्ताङमा हेल्थ डेस्क राखिएको र गण्डकी प्रदेश हालसम्म सुरक्षित रहको उहाँको भनाइ छ ।