neapl investment mega bank
  • गृहपृष्ठ
  • काभ्रेपलाञ्चोकको पनौतीमा सङ्कटा जात्रा र अबिर जात्रा मनाइयो

काभ्रेपलाञ्चोकको पनौतीमा सङ्कटा जात्रा र अबिर जात्रा मनाइयो

Mar 9th, 2020

बनेपा, २६ फागुन (रासस)

काभ्रेपलाञ्चोकको पनौतीमा हरेक वर्ष फागुन पूर्णिमाको दिन मनाउने सङ्कटा जात्रा र अबिर जात्रा यसपालि पनि धुमधामसँग मनाइएको छ । विशेषगरी यहाँका आचार्य र प्रधान समुदायले मनाउने जात्रामा बाजागाजासहित पनौती नगरपालिका–७ त्रिवेणीघाटमा रहेको सङ्कटा मन्दिरबाट शुरु गरी बजार परिक्रमा गर्दै पुनः मन्दिरमा पुगेर जात्रा सम्पन्न हुन्छ ।

पनौतीमा मनाउँदै आएको विभिन्न जात्रामध्येको सङ्कटा जात्रा र अबिर जात्रा पनि एक हो । सिङ्गो पनौती बासिन्दाले मनाउने सो जात्रा हरेक फागु पूर्णिमाको दिन धुमधामसँग मनाइन्छ । पौराणिककालदेखि मनाउँदै आएको भए पनि विभिन्न कारणले निरन्तरता दिन नसकेको जात्रा २०६७ सालदेखि भिन्तुना ग्रुप पनौतीको अगुवाइमा वार्षिकरुपमा मनाउँदै आएको सङ्कटा जात्रा व्यवस्थापन समितिका प्रमुख सल्लाहकार पुरुषोत्तम कर्माचार्यले बताउनुभयो ।

विशेषगरी पारिवारिक सुख र समृद्धिको कामनाका साथ सबैको सुख, शान्ति र मेलमिलापको कामना गर्दै सङ्कटमोचन होस् भन्ने कामनाका साथ यो जात्रा मनाउने गरिन्छ । समितिका प्रमुख सल्लाहकार पुरुषोत्तम कर्माचार्यले भन्नुभयो, “यो जात्रा मनाएपछि पारिवारिक र समाजमा सङ्कटमोचन हुन्छ भन्ने जनविश्वास रहिआएको छ ।”

सो अवसरमा बिहान बाजागाजासहित नगर परिक्रमा गर्ने र दिउँसो सङ्कटा मन्दिरमा राँगो बलि दिएर सुन सङ्कटा मूर्तिलाई बजार परिक्रमा गरेर पुनः मन्दिरमा नै लगेर राखिन्छ । सो जात्रासँगै आज नै यहाँका स्थानीय बासिन्दाले एकापसमा अबिर लगाएर अबिर जात्रासमेत मनाइयो छ । आपासी सद्भाव, खुशी र उमङ्गको पर्वका रुपमा मनाउँदै आएको फागु पूर्णिमालाई यहाँका स्थानीय बासिन्दाले अबिर जात्राका रुपमा मनाउँदै आएको छ । विभिन्न बाजागाजा बजाएर बजार परिक्रमा गर्दै एकापसमा रङ दलेर अबिर जात्रा मनाएको कर्माचार्यले बताउनुभयो ।

यस वर्ष जात्रा मनाउनका लागि स्थानीय प्रवीण कर्माचार्यको संयोजकत्वमा जात्रा व्यवस्थापन समिति गठन गरी जात्रालाई व्यवस्थित ढङ्गले मनाएको छ । पनौतीमा हुने जात्रामध्ये सो जात्राका लागि पनि नगरपालिकाले आर्थिक सहयोग गरिएको छ । पनौतीमा हुने जात्राको मुम व्यवस्थापन समितिको नाममा बजेट व्यवस्थापन गरेअनुसार त्यसबाट विभिन्न जात्रा मनाउनका लागि बजेट व्यवस्थापन हुने जनाएको छ ।