neapl investment mega bank
  • गृहपृष्ठ
  • दैलेखको दुर्गममा झोलुङ्गे पुल बन्ने भएपछि स्थानीयवासी खुसी

दैलेखको दुर्गममा झोलुङ्गे पुल बन्ने भएपछि स्थानीयवासी खुसी

Mar 9th, 2020

दैलेख, २६ फागनु (रासस)

दुर्गम क्षेत्र मानिएको पश्चिम दैलेखको ठाटीकाँध गाउँपालिका–१ सिराडी र चामुण्डाबिन्द्रासैनी नगरपालिका–३ हाडाकोट जोड्ने ‘भोलुङ्गे पुल’ निर्माण हुने भएपछि स्थानीयवासीमा खुशी भएका छन् । वर्षौंदेखि रामघाट खोलामा पुल नहुँदा तीन घण्टा लामो यात्रा गर्नुपर्ने बाध्यता भोग्दै आएका स्थानीयवासी पुल बन्ने भएपछि खुशी भएका हुन् ।

यो ठाउँमा पुल नहुँदा पहिले केही मान्छेलाई खोलाले बगाएको छ । सामान्य कामका लागि पनि खोला वारपार गर्नुपर्ने भएकाले बर्सातको समयमा खोला उर्लिएपछि वारपार गर्न निकै समस्या हुने गरेको स्थानीयवासी मेगे भण्डारीले बताउनुभयो । अब खोलामा ८० मिटर लामो पुल बन्ने भएपछि दुई स्थानीय तहका सयौँ नागरिक लाभान्वित हुने पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष दीपक बुढाले बताउनुभयो । चालू आर्थिक वर्षमा कर्णाली प्रदेश सरकारले पुल बनाउन रु ३५ लाख २२ हजार ९०८ बजेट दिएको छ ।

पुल निर्माणको काम शुरु भइसकेको अध्यक्ष बुढाले बताउनुभयो । पुल निर्माणपछि २० जनाले प्रत्यक्षरुपमा रोजगारी पाएका छन्”, उहाँले भन्नुभयो, “अब वैशाख महिनादेखि पुल सञ्चालनमा आइसक्ने गरी काम थालनी गरिएको छ । करीब रु १८ लाख बराबरको सामग्री ढुवानी भइसकेको छ”, अध्यक्ष बुढाले भन्नुभयो, “पुलका लागि आवश्यक पर्ने लट्ठा ढुवानी केही दिनमै हुने छ । स्थानीयवासी अर्जुन शाहीले पुल निर्माण भएपछि ठाटीकाँधबजार जान पहिलेभन्दा अब तीन घण्टा छोटो बाटो हिँड्नुपर्ने बताउनुभयो ।