neapl investment mega bank
  • गृहपृष्ठ
  • बजेटअनुसारको विकास पुगेन :मुख्यमन्त्री शाही

बजेटअनुसारको विकास पुगेन :मुख्यमन्त्री शाही

Mar 9th, 2020

मुसिकोट, २६ फागुन (रासस)

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बजेटअनुसारको विकास जनताको पहँुचसम्म पुग्न नसकेको बताउनुभएको छ । आज जिल्ला समन्वय समिति रुकुम पश्चिमको चौथो जिल्लासभामा उहाँले उपभोक्ताको नाममा विकास माग्ने प्रवृत्तिले नै जनताको पुहँचमा विकास पुग्न नसकेको बताउनुभयो ।

जनताको विकासका लागि छुट्याइएको बजेट व्यक्ति विशेष हुनपुग्दा बजेटको दुरुपयोग हुने गरेको मुख्यमन्त्री शाहीको भनाइ छ । मुुलुक सङ्घीयतामा गइसक्दा पनि पुरानै परिपाटीअनुरुप बजेटको परिचालन र परियोजना बन्ने गर्दा जनताको समृद्धिमा परिवर्तन आउन नसेकेको उहाँले बताउनुभयो ।

अधिकांश परियोजना कार्यान्वयन नहुनु तथा विभिन्न भौतिक पूर्वाधारलगायत सिँचाइ र खानेपानीसमेत जनताको घरदैलोमा पुग्न नसक्नु अहिलेको समस्या रहेको मुख्यमन्त्री शाहीको भनाइ छ । “जनताको आर्थिक समृद्धि र तीव्र विकासका लागि जनताकै भावना र अपेक्षाअनुसार अगाडि बढ्उनुपर्छ,” उहाँले भन्नुभयो । मुख्यमन्त्री शाहीले अबको बजेटमा महिला र बालबालिकाको स्तरवृद्धि गर्ने विभिन्न कार्यक्रम र परियोजना स्थानीय सरकारले ल्याउनुपर्नेमा सुझाव दिनुभयो ।

जिल्लासभामा जिल्लाका ६ वटै स्थानीय तहका प्रमुख, उपप्रमुखलगायत प्रमुख प्रशासकीय अधिकृतको उपस्थिति रहेको छ । दुई दिनसम्म चल्ने जिल्लासभा तथा गोष्ठीमा जिल्लाको बजेट तथा आगामी कार्यक्रम अनुमोदन लगायतको छलफल हुने जिल्ला समन्वय समितिका प्रमुख राजकुमार शर्माले बताउनुभयो ।