neapl investment mega bank
  • गृहपृष्ठ
  • पाराग्वेमा पक्राउ परेका ब्राजिलका विश्वप्रसिद्ध फुटबल खेलाडी रोनाल्डिन्होलाई आफ्नो राहदानी नक्कली भन्ने थाहै थिएनः वकिल

पाराग्वेमा पक्राउ परेका ब्राजिलका विश्वप्रसिद्ध फुटबल खेलाडी रोनाल्डिन्होलाई आफ्नो राहदानी नक्कली भन्ने थाहै थिएनः वकिल

Mar 9th, 2020

आसुनसिओन, २६ फागुन (राससरएएफपी)

ब्राजिलका विश्वप्रसिद्ध फुटबल खेलाडी रोनाल्डिन्होले जानाजान नक्कली राहदानी (पासपोर्ट) नबोकेको उहाँका ब्राजिली वकील सर्जिओ क्वीरोजले दाबी गर्नु भएको छ । क्वीरोजले रोनाल्डिन्होलाई तत्काल रिहा गर्न पाराग्वेका सरकारी अधिकारीहरु समक्ष आग्रह पनि गर्नु भएको छ ।

पाराग्वेमा पक्राउ परेका रोनाल्डिन्हो र उहाँका भाई रोबर्टोले नक्कली कागजात पेश गरेको पाराग्वेका अधिकारीहरुले बताएका छन् ।

उनीहरु दुबै जना यही मामिलामा विगत तीन दिनदेखि पाराग्वेको राजधानी आसुनसिओनको जेलमा थुनिएका छन् ।

वकील क्वीरोजले भन्नुभयो, “रोनाल्डिन्होले कुनै अपराध गर्नु भएको छैन किनभने उहाँलाई दिइएको पासपोर्ट नक्कली हो भन्ने उहाँलाई पनि थाहा थिएन ।”

पाराग्वेका अधिकारीहरुले जेलमा रोनाल्डिन्होको व्यवहार निकै राम्रो भएको र न्यायाधीशले पनि उहाँप्रति सहानुभूति देखाउने सम्भावना रहेको बताएका छन् ।

रोनाल्डिन्हो र उहाँका भाइ रोबर्टो ब्राजिलबाट गत बुधबार पाराग्वे आइपुग्नु भएको थियो । विमानस्थलमा सामान्य जाँच गरेर होटल पुगेका रोनाल्डिन्हो र उहाँका भाइको कोठामा केही घण्टापछि प्रहरीले छापा मारेको थिए ।