मुम्बई, २५ फागुन (रासस/एएफपी)
भारतको समस्याग्रस्त घोषणा गरिएको “यस बैंक”का संस्थापकलाई आइतबार सम्पत्ति शुद्धिकरणको आरोपमा पक्राउ गरिएको छ । भारतमा निजी क्षेत्रको चौथो ठूलो यस बैंकको वित्तीय अवस्था कमजोर भएसँगै भारतीय रिजर्भ बैंकले कारोबारमा अस्थायी प्रतिबन्ध लगाएको छ ।
भारतको केन्द्रीय बैंकले आकस्मिक रुपमा शुक्रबार मध्यराति उक्त बैंकलाई नियन्त्रणमा लिनुका साथै बैंकबाट ५० हजार भारुभन्दा बढी रकम झिक्न नपाइने गरी प्रतिबन्ध लगाएको थियो । पछिल्ला दिनहरुमा बढ्दै गएको खराब कर्जाका कारण बैंकमाथि सङ्कट आएको थियो ।
भारतको वित्तीय अपराध सम्बन्धी जाँच एजेन्सीका अधिकारीहरुले आइतबार बिहान ३ बजे बैंकका संस्थापक राना कपूरलाई मुम्बईस्थित निवासबाट पक्राउ गरेका थिए ।
जाँच एजेन्सीका एक अधिकारीले एएफपीलाई बताएअनुसार रानाले बैंकसम्बन्धी अनुसन्धानमा असयोग गरेपछि पक्राउ गरिएको हो । यस बैंकले पनि रानाको गिरफ्तारीको पुष्टी गरेको छ ।
अधिकारीहरुले मुम्बईस्थित रानाको भव्य महलमा छापा मारेको थियो ।
भारतीय रिजर्भ बैंकले यस बैंकका ग्राहकलाई एक महिनाको अवधिमा ५० हजार भारतीय रुपैयाँ मात्र झिक्न पाउने व्यवस्था गरेपछि ग्राहकहरुमा निराशा छाएको छ । मानिसहरु यस बैंकका एटिएम र शाखाहरुमा शुक्रबार र शनिबार लामो लाइनमा बस्न बाध्य भएका थिए ।
रिजर्भ बैंकको उद्धार योजना बमोजिम भारतीय स्टेट बैंक ९एसबिआई०ले समस्याग्रस्त “यस बैंक”को ४९ प्रतिशत शेयर खरिद गर्न २ अर्ब ४५ करोड भारतीय रुपैयाँ लगानी गर्ने जनाएको छ । एसबिआईका अध्यक्ष रजनिश कुमारले यस बैंकमा लगानी गर्न २३ जना लगानीकर्ताले अभिरुचि देखाइसकेको पनि जानकारी दिनुभयो ।
यस बैंकले खराब ऋण उठाउन नसक्दा पर्याप्त पूँजी लगानी गर्न नसकेको रिजर्भ बैंकको भनाई छ । यस बैंकका एक हजारभन्दा बढी शाखा र एक हजार ८०० भन्दा बढी एटिएम छन् ।