नयाँ दिल्ली, २३ फागुन (एएनआई/रासस)
भारतमा कोरोना भाश्इरसबाट सङ्क्रमित हुनेको सङ्ख्या बिहीबारसम्म ३० पुगेको छ ।
प्राप्त पछिल्लो सूचना अनुसार भाइरसबाट सङ्क्रमित सबैभन्दा पछिल्लो व्यक्ति उत्तर प्रदेशको गाजियावादमा भेटिएको अधिकारीहरूले पुष्टि गरेका छन् ।
यसअघि बिहीबार नै संघीय स्वास्थ्यमन्त्री डा। हर्षबर्धनले यही मार्च ४ देखि अहिलेसम्म २९ जना सङ्क्रमित भएको बताउनुभएको थियो ।
राज्यसभामा बोल्दै उहाँले भन्नुभयो, “देशभर यही मार्च ४ देअि अहिलेसम्ममा कोरोना भाइरसबाट सङ्क्रमितहरूको सङ्ख्या २९ पुगेको छ ।”
उहाँले आफू र आफ्नो टोलीले कोरोना भाइरस फैलिएको अवस्थाको अनुगमन र मूल्याङ्कन गर्दै समीक्षा र विश्लेषण गरिरहेको पनि जानकारी दिनुभयो ।
कोरोनाको सङ्क्रमण देशभित्र प्रवेश गर्न नदिन सरकारको तर्फबाट गत जनवरी १७ देखि नै विभिन्न प्रयासहरू गरिरहेको मन्त्री बर्धनले बताउनुभयो ।
विश्व स्वास्थ्य संगठनको सुझाब र आग्रह अगाडि नै आफूहरूले सावधानीस्वरूप काम थालिसकेको दावी उहाँले गर्नुभयो ।
उहाँले सरकारका तर्फबाट गम्भीरतापूर्वक काम भइरहेको पनि दावी गर्नुभयो । देशका उत्तर प्रदेश, बिहार, पश्चिम बङ्गाललगायतका नाकाहरूमा विशेष टोलीद्वारा अनुगमन नियन्त्रण र व्यवस्थापनको काम गरिएको उहाँले सदनलाई जानकारी दिनुभयो ।
कोरोनाका कारण बिहीबारसम्म संसारभर तीनहजार २०० भन्दा बढीको मृत्यु भइसकेको छ ।