क्यालिफोर्निया, २२ फागुन 9राससरएएफपी)
संयुक्तराज्य अमेरिकाको क्यालिफोर्नियामा प्राणघातक कोरोना जीवाणु (भाइरस) का कारण एक व्यक्तिको मृत्यु भएपछि आपतकाल घोषणा गरिएको छ । अमेरिकामा यो समेत १० जनाको कोरोना भाइरसकै कारण मृत्यु भइसकेको छ ।
अमेरिकी स्वास्थ्य अधिकारीहरुले क्यालिफोर्नियाको स्याक्रामान्टो अस्पतालमा मृत्यु भएका ती व्यक्ति ७१ वर्षका पुरुष रहेको जानकारी दिएका छन् । ती व्यक्ति हालै क्रुज जहाजको यात्राबाट फर्किएका हुन् ।
ह्वाइट हाउसले यस रोगको परीक्षणलाई देशव्यापी विस्तार गर्ने बुधबार जानकारी दिएको छ । अमेरिकाका १६ वटा राज्यमा करिब १५० जनामा कोरोना भाइरस देखिएको थियो ।
विश्वभर हाल कोरोना सङ्क्रमित व्यक्तिको संख्या ९२ हजारभन्दा बढी पुगिसकेको छ, र तीमध्ये करिब ८० हजार चीनमा रहेको बिबिसीले जनाएको छ । हाल विश्वभर कोराना पीडित ३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।
अमेरिकामा मृत्यु भएका ११ जनामध्ये १० जना वासिङ्टन राज्यका रहेका छन् र पछिल्लो समय यो रोग टेक्सास र नेब्रास्का राज्यमा पनि फैलिएको छ ।
यसैबीच वासिङ्टन र फ्लोरिडा राज्य दुबैले गत साता नै स्वास्थ्य आपतकालको घोषणा गरिसकेका छन् ।
क्यालिफोर्नियामा मृत्यु भएका कोरोना सङ्क्रमित बृद्ध व्यक्ति ग्रान्ड प्रिन्सेज नामको क्रुजमा यात्रारत रहेका व्यक्ति थिए । यो जहाज सानफ्रान्सिस्को हुँदै मेक्सिको पुगेको थियो ।
कोरोनाको त्रास फैलिएसँगै संयुक्तराज्य अमेरिकाले चीन भ्रमण गरेका कुनै पनि देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाएको छ । तर चीन छाडेको १४ दिन पछि भने त्यस्ता यात्रुलाई अमेरिका प्रवेश गर्न दिइने गरिएको छ ।
अमेरिकी उपराष्ट्रपति माइक पेन्सले बुधबार कुनै चिकित्सकले कुनै व्यक्तिको परीक्षण गर्ने बताएको खण्डमा त्यस्ता व्यक्तिले अनिवार्य रुपमा स्वास्थ्य परीक्षण र क्वारेन्टाइनमा बस्नै पर्ने बताउनुभएको छ ।
विश्वभर कोरोनाको त्रास
चीनपछि कोरोनाले सर्वाधिक प्रभाव पारेको मुलुक दक्षिण कोरिया हो । बुधबार मात्र यहाँ ५१६ जनामा कोरोनाका जीवाणु देखिएको छ । योसहित कोरियामा कूल सङ्क्रमित व्यक्तिको संख्या ५ हजार ७६६ पुगेको छ । कोरोनाकै कारण दक्षिण कोरियामा हालसम्म ३५ जनाको मृत्यु भइसकेको छ ।
कोरोना सङ्क्रमणको जोखिम नियन्त्रण गर्न दक्षिण कोरियाका प्रधानमन्त्री चुङ स्ये–क्यूनले अनुहारमा लगाउने मास्क विदेश निर्यात गर्न प्रतिबन्ध लगाइएको घोषणा गर्नु भएको छ ।
अस्ट्रेलिया सरकारले दक्षिण कोरियाबाट आउने सबै विदेशी नागरिकको प्रवेशमाथि रोक लगाएको छ । अस्ट्रेलियामा पनि कोरोनाबाट दुई जनाको मृत्यु भइसकेको छ भने अरु ५३ जनामा कोरोना सङ्क्रमण भएको छ ।
चीनमा भने बुधबार १३९ जना नयाँ सङ्क्रमित व्यक्ति भेटिएका छन् भने ३१ जनाको मृत्यु भएको छ । यी सबै व्यक्ति चीनको हुबे प्रान्तका रहेका छन् ।
इटालीमा भने विद्यालयहरु १० दिनका लागि बन्द गरिएका छन् ।
बिहीबार मात्र अन्तर्राष्ट्रिय मुद्रा कोषले कोरोना भाइरस प्रभावित मुलुकहरुको सहायताका लागि ५० अर्ब अमेरिकी डलरको सहायता गर्ने घोषणा गरेको छ । कोषले कोरोनाको त्रासबीच विश्वको आर्थिक वृद्धि सन् २०१९ मा २।९ प्रतिशतभन्दा कमै हुने अनुमान गरेको छ ।