आधारभूमी संवाददाता
काठमाडौं,फागुन २२
नेपाल बैंंकर्स एसोसिएसन्का अनुसार फागुनमा निक्षेप १० अर्बले बढेको छ भने कर्जा ९ अर्बले बढेको छ । यो तथ्याकले निक्षेपमा खासै सुधार हुन नसकेको देखिन्छ ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीति कर्जा विस्तार गर्नेगरि संसोधन गरेको छ । तर बाणिज्य बैंकहरुमा भने त्यस्तो कर्जा प्रवाह गर्नका लागि आवश्यक रकम नै छैन । तैपनि बैंकहरुले कर्जा नगएको बताउने गरेका छन् ।
निक्षेप अर्थात स्रोत व्यवस्थापनमा भने राष्ट्र बैंकले खासै ध्यान दिएको छैन । जसका कारण पनि बैकहरुमा निक्षेपमा सुधार हुन नसकेको हो । बैंकहरुले बचतमा ब्याज घटाएका कारण पनि यसरी बैकमा आउनुपर्ने रकम अन्तै पलायन भएको हुनसक्ने आशंका उब्जीएको छ । किनभने फागुन महिनामा सरकारले ७४ अर्ब १३ करोड खर्चेको छ । सरकारको खर्च बढेपनि बैंकमा निक्षेबापत यस्तो रकम जम्मा हुन सकेको छै ।
७४ अर्ब खर्च मध्ये २४ अर्ब ९९ करोड राजस्वका रुपमा सरकारकै खातामा फर्केको छ । यसबाहेक २७ अर्ब रकम मात्रै बैंकमा निक्षेप र कर्जाको रुपमा गएको छ । यसरी हेर्दा बैंकमा जम्मा भएको निक्षेप, प्रवाह भएको कर्जा र राजस्व जोड्दा अहिले पनि बैकिङ प्रणाली बाहिर २२ अर्ब रकम रहेको देखिन्छ । जुन रकम सेयर बजार र सहकारी तथा उपभोगमा गएको हुनसक्ने धेरैको आकलन छ ।
घट्दो ब्याजका कारण पनि अहिले बचतकर्ताहरुले रकम बैंकमा जम्मा गर्नेभन्दा पनि सेयरमा लगानी गर्न थालेका हुन् । सेयरबजार परिसुचक फागुन महिनामा मात्रै झन्डै एक सय अंकले बढेको छ । पौने पाँच अर्ब सम्मको कारोबार हुनुले पनि सेयरबजारमा पछिल्लो समय लगानी भित्रिएको जनाउँछ।
खर्च भएको रकम सेयरबजार र सहकारीमा जादा बैंकहरुमा निक्षेप बढ्न नसकेको हो । बैंकहरुले बचतमा दिने ब्याज घट्दा अहिले साथमा पैसा भएकाहरु सेयरबजारमा लगानी गर्न तम्सीएका छन् ।