काठमाडौ, फागुुन २१
नेपालका लागि ताञ्जानियाका राजदूत महामहिम बाराका हरण लुभाण्डा र नेपाल उद्योग परिसंघका पदाधिकारीहरुबिच मंगलबार परिसंघको सचिवालयमा भेटवार्ता भएको छ । उनी भारतका लागि आवासीय राजदूत हुुन ।
प्रारम्भमा महामहिम बाराका हरण लुभाण्डाको स्वागत गर्दे परिसंघका अध्यक्ष सतिश कुमार मोरले नेपाल ताञ्जानिया बीचको द्विपक्षीय सम्बन्धलाई प्रगाढ बनाउदै आर्थिक तथा व्यापारिक र लगानी विस्तारमा केन्द्रित गर्नु पर्ने समय आएको बताए । साथै नेपाल र ताञ्जानिया बीच सहजकर्ताको भूमिका निर्वाह गर्न परिसंघ तयार रहेको उल्लेख गर्दे उनले उत्पादनमुलक क्षेत्र, पूर्वाधार, कृषि तथा पर्यटनका क्षेत्रमा लगानीका सम्भावनाहरु रहेको तर्फ अध्यक्षले राजदूतको ध्यानाकर्षण गराए ।
सो अवसरमा राजदूत बाराका हरण लुभाण्डाले ताञ्जानिया र नेपालको आर्थिक तथा निजी क्षेत्रको विकासका लागि दुबै देशले आपसी सहयोगको सम्भावना खोज्नुपर्ने बताए । नेपालको महत्वपूर्ण सम्बन्धलाई आर्थिक अवसरमा बदल्न सबैखाले लगानीका लागि उचित वातावरण तयार गर्नु आफ्नो प्राथमिकतामा रहको बताए ।
लगानी वातावरणमा देखिएका समस्या सुधारमा सहकार्य अघि बढाउने प्रतिवद्धता पनि राजदूत लुभाण्डाले उल्लेख गरे । सो अवसरमा परिसंघका पदाधिकारीहरु समेतको उपस्थिति थियो ।