गौशाला, १८ फागुन (रासस)
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पर्यटन क्षेत्रको विकासबाटै मुलुक आर्थिक समृद्धिको दिशामा अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ । सरकारले पर्यटन क्षेत्र विकासका लागि बजेट छुट्याएर गरिबी निवारण गर्ने योजना बनाएको उहाँले उल्लेख गर्नुभयो ।
आज महोत्तरीको भङ्गहा नगरपालिका–८ कञ्चनवनमा मिथिला मध्यमा परिक्रमामा सहभागी श्रद्धालुलाई स्वागत गर्ने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री भट्टराईले परिक्रमाका लागि महत्वपूर्ण स्थल मानिएको कञ्चनवनको पर्यटकीय विकासका लागि आफूले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । प्रदेश नं २ लाई धार्मिक, संस्कृतिक पर्यटन क्षेत्र बनाउने सोच रहेको चर्चा गर्नुहुँदै उहाँले प्रदेशको विभिन्न जिल्लामा धार्मिक, संस्कृतिक महत्व बोकेका क्षेत्रलाई जोडेर बृहत् सांस्कृतिक क्षेत्र बनाउने बताउनुभयो ।
सो अवसरमा प्रदेश नं २ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश रायले मिथिला मध्यमा परिक्रमाको ऐतिहासिकतालाई दृष्टिगत गर्दै केन्द्रीय सरकारले विशेष प्याकेजमा बजेट छुट्याउनुपर्नेमा जोड दिनुभयो ।
मिथिला मध्यमा परिक्रमाको सातौँ पडावस्थल कञ्चनवन पुगेका यात्रीहरुसँग मन्त्री भट्टराई र रायलगायत उच्च व्यक्तिले कञ्चनवनस्थित मन्दिरमा होलीसमेत खेलेका थिए । मध्यमा परिक्रमामा श्रद्धालुले नेपालका १३ र भारतका दुई पडाव गरी १५ दिनमा १५ पडावस्थलको १३३ किलोमिटरको यात्रा गर्ने गर्छन् । फागुन पूर्णिमाका दिन जनकपुरधाम पुगेर पञ्चकोशी अर्थात् जनकपुरधामको परिक्रमा गरी समापन हुनेछ ।