neapl investment mega bank
  • गृहपृष्ठ
  • पाँचसय सार्वजनिक सवारी साधनमा ‘डस्बिन’

पाँचसय सार्वजनिक सवारी साधनमा ‘डस्बिन’

Feb 29th, 2020

काठमाडौँ, १७ फागुन (रासस)

संस्कार समाज नेपालले सार्वजनिक सवारी साधनबाट हुने फोहरलाई नियन्त्रण गर्न ५०० ‘डस्बिन’ वितरण गरेको छ । ‘असल संस्कार सिकौँ÷सिकाऔँ, आफ्नो देश आफैँ बनाऔँ’ भन्ने मूल नारा बोकेको समाजले घान्द्रुक समाज हङ्कङको सहकार्यमा आज नयाँ बसपार्कबाट उपत्यकाका विभिन्न जिल्लामा आवतजावत गर्ने सार्वजनिक सवारी साधनलाई ‘डस्बिन’ वितरण गरेको हो ।

समाजका अध्यक्ष पशुपति गुरुङ समाज र देशको विकासका लागि असल संस्कार आवश्यक रहेको बताउनुहुन्छ । “व्यक्ति व्यक्तिमा असल संस्कारको विकास भएमात्र देशको विकास हुन्छ”, उहाँ भन्नुहुन्छ । संस्कार समाजले यसभन्दा अगाडि नयाँ बसपार्कबाट देशका विभिन्न क्षेत्रमा आवतजावत गर्ने एक हजार सार्वजनिक सवारी साधनलाई जनचेतनामूलक अडियोसहितका पेनड्राइभ वितरण गरेको थियो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौला सार्वजनिक सवारी साधनलाई सफा राख्नुपर्ने बताउनुहुन्छ । “लाखौँ व्यक्ति सार्वजनिक सवारी साधन चढ्ने भएकाले यसलाई सफा राख्नु सबैको दायित्व हो”, उहाँ भन्नुहुन्छ ।

घान्द्रुक समाज हङ्कङका प्रतिनिधि विशु सम ‘समृद्ध नेपाल’ निर्माणका लागि समाजले सहयोग गरेको बताउनुहुन्छ । नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुद्देश्यीय प्रालीका अध्यक्ष दीपक कुँवरले फोहररहित नयाँ बसपार्क निर्माणका लागि संस्कार समाज नेपालले डस्बिन वितरण गरेर राम्रो कामको थालनी गरेको बताउनुभयो । विसं २०७४ मा स्थापना भएको समाजले सरसफाइका साथै जनचेतनामूलक र सामाजिक काम गर्दै आइरहेको छ ।