बलेवा, १६ फागुन (रासस)
सदरमुकाम बागलुङ बजार नजिकै रहेर पनि उत्तरपट्टिका गाउँमा खानेपानीको चरम समस्या छ । बागलुङ नगरपालिका वडा नं ६, ४ र ३ मा पर्ने लङ्गाउँ, भिरलांखुरी, तीनतले, छापलगायतका गाउँमा मुहान अभावका कारण सर्वसाधारणले पानीको समस्या खेप्दै आएका छन् ।
बागलुङबजारमा पानीको समस्या समाधान गर्नका लागि भएका पहल र कामले पनि ती गाउँलाई सम्बोधन गर्न नसकेका कारण त्यहाँका सर्वसाधारण कुवा र घरपरका जङ्गलछेउमा रहेका पानीका धारामा निर्भर थिए । काठेखोलाको पानी लिफ्टिङ प्रविधिबाट रात्माटामा तानेर चौबिसै घण्टा बजारमा खानेपानी उपलब्ध गराउने बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको योजनामा समेत छुटेका यी गाउँ अब भने योजनामा समेटिने भएका छन् ।
उपभोक्ता संस्थाले तयार पारेको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) मा यी गाउँहरु छुटेका थिए । पुनः डिपिआर गरेर सबै गाउँमा काठेखोलाको पानीनै पुग्नेगरी योजना शुरु भएको छ । रु ४७ करोड खर्चेर सहलगानी कार्यक्रमअन्तर्गत निर्माण भइरहेको लिफ्टिङ आयोजनाको पानी नै पहिले पु¥याउने भनिएको भन्दा थप १०० मिटरमाथि तानेर ती गाउँमा खानेपानी पु¥याउन लागिएको हो । त्यसका लागि झण्डै रु सात करोड खर्च हुनेछ । त्यो खर्च भने नगरपालिका, उपभोक्ता संस्था र प्रदेश सरकारले संयुक्तरूपमा गर्ने भएका हुन् ।
रात्माटामा निर्माण हुने एक लाख लिटरको ट्याङ्कीबाट थप झण्डै १०० मिटरमाथि भिरलाङ्खुरीमा निर्माण हुने एक लाख लिटरको ट्याङ्कीमा पानी तान्ने गरी योजना अघि बढेको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल जानकारी दिनुभयो । ट्याङ्की निर्माणका लागि नगरपालिकाले रु ४० लाख विनियोजन गरेको छ । त्यसमा थप रु १० लाखको श्रमदान जोडिने छ । उक्त रकमले एक लाख ३० हजार र २० हजार लिटरका तीन ट्याङ्की निर्माण हुने नगरपालिकाका इञ्जिनीयर गौरव शर्माले बताउनुभयो । पहिलो चरणमा निर्माण हुने एक लाख लिटरको ट्याङ्कीको बिहीबार नगरप्रमुख पौडेलले शिलान्याश गर्नुभयो ।
भिरलाङ्खुरीको प्रमुख ट्याङ्कीबाट अरु दुई ट्याङ्कीमा पानी पठाइने छ । त्यहाँबाट वितरण हुने पानी ३५० घरधुरीमा पुग्ने सोही नगरपालिका–६ का अध्यक्ष खिमराज सापकोटा जानकारी दिनुभयो । विस्तृत योजनामा समावेश हुन नसकेका गाउँमा पानी पु¥याउनका लागि नगरपालिकाले ट्याङ्की निर्माण गर्ने, उपभोक्ता संस्थाले पाइपलाइन र धाराको काम गर्ने तथा प्रदेश सरकारले प्राविधिक सहयोग गर्ने गरी त्रिपक्षीय सम्झौता भएको थियो ।
सोही सम्झौता अनुसार काम अघि बढेको नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष हरिप्रसाद श्रेष्ठ बताउनुहुन्छ । बागलुङ बजारका लागि प्रतिसेकेण्ड ७० लिटरका दरले काठेखोलाको पानी रात्माटामा तान्ने गरी काम भइरहेको छ । दैनिक छ घण्टा पानी तान्दा उपभोक्ताले चौबिसै घण्टा पानी पाउने डिपिआरमा उल्लेख छ । त्यसमा केही समय थपेर थप ३५० घरधुरीले पानी पाउने गरी रात्माटाभन्दा माथि भिरलाङ्खुरीमा पानी तान्न थालिएको उहाँले जानकारी दिनुभयो ।
ट्याङ्की निर्माण उपभोक्ता समतिमार्फत हुनेछ । आगामी आर्थिक वर्षको अन्त्यसम्ममा काम सक्ने लक्ष्य समितिले राखेको छ । “हामीले पानीको राजनीति अन्त्यको प्रयास थालेका छौँ” नगरप्रमुख पौडेलले भन्नुभयो, “सम्भव भएका ठाउँमा मुहान र नभएका ठाउँमा लिफ्टिङ प्रविधिको प्रयोग गरेर भए पनि नगरका सबै घरमा हाम्रै कार्यकालमा एक घर एक धारा निर्माण गर्नेछौँ ।” आगामी चुनावमा कसैले पनि पानीको विषयलाई प्रमुख बनाएर जनताको घरदैलोमा नजाने उहाँले जिकिर गर्नुभयो । नगरपालिकाका वडा नं ४, ६, ८ र १३ का केही बस्तीमा रहेको पानीको चरम समस्या समाधानका लागि योजना निर्माण भएर काम भइरहेको उहाँले बताउनुभयो ।