नयाँ दिल्ली, १३ फागुन (रासस/एएनआई)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारतको अहमदावादको कार्यक्रम, आग्रास्थित ताजमहलको अवलोकन भ्रमणपछि सोमबार साँझ नयाँ दिल्ली आइपुग्नुभएको छ । नयाँ दिल्लीमा उहाँलाई संघीय मन्त्री हरदीप सिंह पूरीले दिल्लीस्थित विमानस्थलमा उहाँको स्वागत गर्नुभएको थियो ।
अमेरिकी राष्ट्रपति ट्रम्प, प्रथम महिला मेलानिया, छोरी इभान्का र ज्वाईँ जारेद कुश्नरसहितको अमेरिकी प्रतिनिधिमण्डल सोमबार दिल्लीस्थित सुविधासम्पन्न आइटीसी मौर्या होटेलमा आराम गर्नुहुनेछ भने मङ्गलबार दिनभर विभिन्न छलफल तथा भेटघाटमा व्यस्त रहनुहुनेछ ।
राष्ट्रपति ट्रम्पको भ्रमणले दुई पक्षीय सम्बन्ध विशेष गरेर व्यापारको क्षेत्रमा सुधारका लागि छलफल भ्रमणको दोस्रो दिन मङ्गलबार ट्रम्प दिल्ली फर्केर हैदरावाद हाउसमा विभिन्न चरणमा रक्षा, व्यापारलगायत विषयमा छलफल गर्नुहुने बताइएको छ । तर पूर्वअपेक्षित व्यापार सम्झौता भने उहाँको भ्रमणका क्रममा हुने छैनन् ।
सन् १९४७ मा भारत स्वतन्त्र भएपछि भारत भ्रमणमा आउन लागेका ट्रम्प अमेरिकाका सातौँ राष्ट्रपति हुनुभएको छ । यसअघि तत्कालीन राष्ट्रपति बाराक ओवामाले सन् २०१५ जनवरी २५–२७ मा तीन दिने भारत भ्रमण गर्नुभएको थियो । उहाँ आफ्नो दुवै कार्यकालमा भारतको भ्रमण गर्नुभएको थियो ।