आधारभूमी संवाददाता
काठमाडौं १२ फगुन
विश्वमै पहिलोपटक आयोजना गर्न लागिएको मर्यादित महिनावारी कार्यशाला नेपालमा हुने भएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आउँदो जेठ महिनामा ‘अन्तर्राष्ट्रिय मर्यादित महिनावारी कार्यशाला गोष्ठी’को आयोजना गर्न लागेको हो ।
मन्त्रालयसहित राष्ट्रिय मानव अधिकार आयोग आयोजक रहेको यस गोष्टी जेठ १३ गतेदेखि १५ गतेसम्म चल्ने छ । यस कार्यक्रममा दक्षिण गोलार्दयीय महिनावारी सञ्जाल सहआयोजक हुने वताइएको छ ।
यस सम्मेलनमा ३० भन्दा बढि देश सहभागी हुनेछन् । दोस्रो राष्ट्रिय महिला अधिकार दिवसको अवसर पारेर आयोजना गर्न लागिएको गोष्ठीको मूल नारा ‘महिनावारीका कुरा, मर्यादा केन्द्रित भए मात्रै हुन्छ पूरा’ भन्ने रहेको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सो कार्यक्रमबारे जनाकारी गराउदै सरकारको छाउपडी प्रथा अन्त्य गर्ने अभियान अन्तरगत यो कार्यक्रम हुन लागेको वताएको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री गुरुङले सामाजिक कलंकको रुपमा रहेको छाउपडी प्रथालगायतका सामाजिक कुरीति र अन्धविश्वासबाट देशलाई मुक्त गराउने सरकारको अभियान अन्तरगत हुन लागेको जानकारी दिए । उनले यस अन्तर्राष्ट्रिय सम्मेलनमा स्थानीय तह, प्रदेश तथा तथा प्रतिनिधिसभाका सदस्य, अभियन्ता लगायतको सहभागिता हुने बताए ।
गोष्ठीमा महिनावारीका विभिन्न पक्षहरु भान्सादेखि संसदसम्म महिनावारी निषेधको अन्त्य, यौनिक तथा प्रजनन स्वास्थ्य अधिकार, धार्मिक मान्यता, सरसफाई छाउपडी प्रथा लगायतका सामाजिक कूरीति अन्त्यका लागि आवश्यक ऐन, कानुन र नीतिको बारेमा छलफल गरिनेछ ।
महिनावारीलाई मानव अधिकारको दृष्टिबाट हेर्नुपर्ने अधिकारकर्मीको माग छ । हरेक महिलाले महिनावारी भएका बेला मर्यादापूर्वक जीवन जिउन पाउने अधिकार सुनिश्चित हुनुपर्नेमा महिला अधिकारकर्मीले जोड दिएका छन् ।